उदयपुर, कात्तिक २४ । चुनावको मिति नजिकिँदै जाँदा उदपयुर–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु मतदाता रिझाउन ब्यस्थ छन । जीवनभर नेपाली कांग्रेसबिरुद्ध खडा भएर आउनु भएका नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा कांग्रेसकै शरणमा परेर उम्मेदवार बन्नुभएको यस क्षेत्रमा मुख्य रुपमा एमाले र गठबन्धनबीच नै प्रतिस्पर्धा रहेको पाइएको छ ।
नेकपा एमालेबाट राजनीति अघि बढाउनु भएका खतिवडाको यो क्षेत्र राजनीतिक रुपमा पुरानो हो तर पार्टी र चिन्ह भने बिल्कुलै नयाँ रहेको छ । खतिवडा पाँच दलीय गठबन्धनको उम्मेदवार हुनुहुन्छ । खतिवडाविरुद्ध एमालेले समाजसेवी अम्बर रायमाझीलाई उम्मेदवार बनाएको छ । राजनीति तथा शैक्षिक क्षेत्रमा क्रियाशील समाजसेवी रायमाझीलाई एमालेले पहिलो पटक चुनावी मैदानमा उतारेको छ । सदैव जनताको काममा लागिरहने रायमाझीको उम्मेदवारीले खतिवडालाई निकै अप्ठ्यारोपारेको छ ।
लामो समय नेकपा एमालेबाट राजनिति गर्नुभएका खतिवडाले हाल एमालेका उम्मेदवार कै सामना गर्नु परेको छ । पुरानो पार्टी छाडेर हिँडेको भन्दै मतदाता समेत खतिवडासँग रुष्ट बनेका छन् । २०५६ सालमा खतिवडाले उदयपुर–२ बाट चुनाव जित्नु भएको थियो । उदयपुरमा ३ वटा निर्वाचन क्षेत्र हुँदा २०७० मा उहाँ ३ नम्बर क्षेत्रबाट पराजित हुनुभयो ।
०७४ को चुनावमा उदयपुरको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले जितेको थियो । उदयपुर २ मा उदयपुरगढी, लिम्चुङबुङ, ताप्ली, रौतामाई गाउँपालिका र कटारी नगरपालिका पर्छन् । गठबन्धनले जिल्लाका पुराना नेता उठाए पनि जित्न भने निकै कठिन देखिएको छ । गठबन्धनले सबैभन्दा कमजोर पार्टीलाई टिकट दिएको भन्दै सो क्षेत्रमा कांग्रेस नेता रामकुमार राईले गठबन्धन बिरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । राईलाई गठबन्धनका भोट काट्ने बलियो उम्मेदवार मानिएको छ ।
सो क्षेत्रका पाँच पालिका मध्ये गत स्थानीय तह चुनावमा तीन पालिका प्रमुख जितेको माओवादीले टिकटको दाबी गरेको थियो । तर समाजवादीलाई टिकट दिँदा माओवादी पनि असुन्तुष्ट छ । कांग्रेसको त विद्रोही उम्मेदवार नै मैदानमा छन । यस क्षेत्रमा जसपाले पनि उम्मेदवारी दिएको छ । जसपाबाट सिद्धान्त राईले उम्मेदवारी दिनुभएको छ । सिद्धान्तको कोर एरियामा उहाँले पनि आफ्नो प्रभाव जमाउने पक्का छ ।
जिल्लामै सवैभन्दा कमजोर मानिएको नेकपा एसबाटै उम्मेदवार भएपछि गठबन्धनको मत खतिवडातिर जाने अवस्था बिस्तारै कमजोर बन्दै गएको पाइएको छ । तर खतिवडा भने गठबन्धन नै आफ्नो जितको आधार ठानिरहनु भएको छ । पहिलाका आफ्नै नेतासँग प्रतिस्पर्धामा उत्रनुभएका एमाले उम्मेदवार रायमाझी पनि आफूले जित्नेमा ढुक्क देखिनु हुन्छ । एमालेको एजेण्डा र राष्ट्रियताको पक्षमा एमालेले गरेको कामका साथै यस क्षेत्रमा आफू लामो समयदेखि समाज सेवामा लागेर काम गरेको र हरेक विकास निमार्णको लागि आफूलाई जिताउने उहाँको बिश्वास छ ।
कांग्रेसमा बिद्रोह गरी स्वतन्त्र उम्मेदवार बन्नुभएका राई पनि आफूले जित्ने बताउँदै अभियानलाई तीब्र बनाउनु भएको छ । उहाँको उम्मेदवारीले खतिवडालाई निकै मुस्किल बनाइ दिएको छ । उदयपुर २ मा स्थानीय तहमा एमालेले १५ वटा वडा अध्यक्ष जितेको छ भने कांग्रेसले १० वटा वडा अध्यक्ष जितेको छ । माओवादीले आठ वटा वडा अध्यक्ष जितेको छ । नेकपा एसले दुई वटा वडा अध्यक्ष जितेको छ । चुनावमा एमालेका वडा अध्यक्षका उम्मेदवारहरुले ल्याएको कूल मत १८५८३ रहेको छ भने गठबन्धनका वडा अध्यक्षले ल्याएको कूल मतको योगफल २२ हजार ९ सय ७३ रहेको छ ।
सो क्षेत्रमा अझै यसैले चुनाव जित्छ भन्ने आकलन गर्न गाह्रो छ । स्थानीय चुनावमा आएको जनमतका आधारमा गठबन्धन अघि देखिन्छ । तर गठबन्धनबाट कमजोर पार्टीका उम्मेदवार बनेइएकोले गठबन्धनको सबै मत खतिवडालाई नआउने देखिएको छ । कांग्रेसका प्रभावशाली नेता नै बागी उम्मेदवार बनेपछि खतिवडालाई कांग्रेसको मत नजाने प्रष्टै देखिएको छ ।
समाजसेवाका कारण सवैको मन जित्नुभएका एमाले उम्मेदवार रायमाझीलाई समेत कांग्रेस र माओवादीको मत आउने अवस्था पनि देखिएको छ कतिपय वडामा । चुनावी प्रचार अभियान अघि बढाउँदै मंसिर ४ मा पुग्दासम्म रायमाझी र खतिवडाले कति मतदाता प्रभाव पार्न सक्छन, त्यो नै बिजयको आधार हुने अहिलेसम्मको दृष्यले देखाएको छ । अहिलेसम्मको अवस्था हेर्दा खतिवडा रेड जोनमा देखिनु भएको छ भने रायमाझी ग्रिन जोनमा हुनुहुन्छ । यस्तै राईले पनि आफ्नो प्रभाव बढाउँदै लग्नुभएको छ । राईका अभियान कायम रहँदा खतिवडा झनै कमजोर बन्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्