जनता टाइम्स

२६ कार्तिक २०७९, शनिबार १५:१९

दोलखामा बुथ कब्जा गर्न नदिने गुरुङको उद्घोष : तामाकोशीमा तीन नेता खटिन्छौं


दोलखा, कात्तिक २६ | नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङले ४ मंसिरको निर्वाचनमा दोलखाका कुनै पनि मतदान केन्द्र कब्जा गर्न नदिइने उद्घोष दोहर्याउनु भएको छ ।

दोलखामा कांग्रेस र माओवादी केन्द्र बुथ कब्जामा बदनाम छन् । अघिल्ला दुईओटा निर्वाचनमा उनीहरुले बुथ कब्जा गरे पनि भारी मतान्तरले एमाले विजयी भएको थियो । तर, ४ मंसिरको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले कब्जाको रणनीति अगाडि सार्ने तयारी गरेपछि पोलिटब्यूरो सदस्य गुरुङले मतदानको दिन तामाकोशी गाउँपालिकाका मतदान केन्द्रहरुमा आफूसहित तीन नेता फिल्डमै परिचालित हुने बताउँदै उच्च मनोवलका साथ सबैखाले तयारी गर्न कार्यकर्तापंक्तिलाई निर्देशन दिनुभएको छ । जनताको मताधिकार जोगाउन एमाले जुनसुकै मूल्य चुकाउन तयार रहेको उहाँको भनाई छ ।

‘बन्दुक बोकेर, जंगल–जंगलमा दिनदहाडै निहत्था जनताको घाँटी रेटेर, हत्या र हिंसा गरेर राजनीतिको खोल ओढेर फेरि दोलखामा २०७४ को जस्तो व्यक्ति हत्या गरेर चुनाव जित्ने योजना र सपनामा उहाँहरू देखिनुहुन्छ, तर त्यो सपना यो पटक एमालेले कदापि पूरा हुन दिँदैन’ मेलुङमा आयोजित चुनावी आमसभामा गुरुङले भन्नुभयो, ‘हामी दोलखाका प्रमुख नेताहरू आनन्द पोखरेल, ईश्वर चन्द्र पोखरेल र पार्वत गुरुङललगायत सबै नेताहरू आफै बुथमा खट्छौँ । तामाकोशीको बुथमा बस्छौँ । जहाँ बुथ कब्जा गर्छौं भनेर गठबन्धनका उम्मेदवारहरूले हल्ला फिजाएका छन्, त्यो बुथको सुरक्षा हामी जसरी पनि गरेरै छोड्छौँ, बेलैमा चेतना होस्, हामी यस पटक दोलखामा कतै पनि बुथ कब्जा गर्न दिनेछैनौँ ।’

उहाँले निर्वाचनको मिति नजिकिदै जाँदा एमालेको जनलहर देखेर दोलखामा गठबन्धनका उम्मेदवारहरू अत्तालिन थालेको पनि बताउनुभयो । ‘पाँच पार्टी मिलेपछि एमालेलाई सोझै परास्त गर्न सकिन्छ भन्ने मनोविज्ञानले काम नगरेपछि अहिले उहाँहरू बुथ कब्जा गर्ने, जनता धम्क्याउने र तर्साउने योजनाको तानाबुना बनाउँदै छन् यस्तो पराजित मानसिकता बोकेकाहरुलाई जनमतबाटै एमालेले जवाफ दिँदैछ’ उहाँले भन्नुभयो,‘यो २१औँ सताब्दीमा पनि बुथ कब्जा गर्ने, जनता लखेट्ने, जनतालाई धम्क्याउने अनि जनतालाई तर्साउने गतिविधि हुन्छ भने त्यो राजनीति होइन, आतंककारी क्रियाकलाप हो, यस्तो आतंककारी काम गरेर जोरी खोज्नेहरुलाई जनताकै तहबाट एमालेले यस पटक गतिलो जवाफ दिन्छ ।’

एमालेले जनताको अधिकार रक्षाका लागि प्रतिवाद मात्रै गर्ने बताउँदै उहाँले आलोचना भन्दा राजनीतिक एजेण्डा र दोलखाको चुनावी घोषणापत्र लिएर मात्र बहसमा आउन गठबन्धनका उम्मेद्वारहरुलाई चुनौति पनि दिनुभयो ।‘जुँगुका कुलबहादुरको हत्या गर्ने माओवादीलाई जनताले बिर्सिएका छैनन।’ पूर्व मन्त्री गुरुङले ०७४ को निर्वाचनमा जुंगुका कूलबहादुर तामाङको हत्या गर्ने माओवादीलाई दोलखाली जनताले राम्ररी चिनिसके पनि उनीहरु अझै सुध्रिने बाटोमा नभएको बताउनुभयो ।

‘२०७४ सालमा गौरीशंकरको जुँगुमा कुलबहादुर तामाङको हत्या गरियो । शान्तिपूर्ण राजनीतिमा आएर पनि माओवादीले हत्याको बाटो लियो । त्यो कुरा दोलखालीले कहिल्यै बिर्सिने छैनन् । एमालेले माओवादीलाई जति सुधार्न खोजे पनि सुध्रिएन । तान्यो तान्यो आएन, अझै तान्यो आएन तै पनि हरेश खाएन । माओवादीलाई ठीक ठाउँमा ल्याउनका लागि अझै पनि प्रयास गरिरहेको छौँ । यो प्रयास निरन्तर भइरहने छन ।’ उहाँले भन्नुभयो ।

सहयात्राका लागि आग्रह
नेता गुरुङले लामो समय कम्युनिष्ट आन्दोलनमा बिताउनुभएका शिव भण्डारीलाई सहयात्राका लागि आग्रह गर्नुभयो । एमालेले भण्डारीलाई अग्रज र सम्मानित नेताका रुपमा हेरिरहेको भन्दै उहाँले त्यो सद्भाव र विश्वासलाई कायम राख्नेगरी अगाडि बढ्ने अपेक्षा पनि राख्नुभयो । प्रतिनिधिसभामा कांग्रेसको उम्मेद्वार नै नभएकाले एमालेका उम्मेद्वार बालकृष्ण शिबाकोटी नै उनीहरुको पनि साझा उम्मेद्वार भएको उहाँको भनाई थियो ।

‘आज दोलखामा कांग्रेसलाई भोट हाल्ने ठाउँ छैन । संघमा उहाँहरूको उम्मेदवार हुनुहुन्न । एकीकृति समाजवादीको पनि उम्मेदवार छैन । आदरणीय शिव भण्डारी दाइलाई पनि संकट परेको छ । उहाँलाई म आग्रह गर्न चाहान्छु– यति लामो समय एमालेमा रहेर कम्युनिष्ट आन्दोलनको सहयात्रा गर्यौँ । अहिले परिस्थितिले फरक कित्तामा छौँ । यद्यपि, उहाँप्रति हाम्रो सम्मान कत्ति पनि डगमगाएको छैन, उहाँले पनि हामीप्रतिको माया र सद्भाव कायम राख्नुभएको छ भन्ने मलाई विश्वास छ ।’ गुरुङले भन्नुभयो ।

प्रदेश मन्त्रीलाई अख्तियारले समात्न सक्छ

वागमती प्रदेशका वन तथा वाताबरण मन्त्री विशाल खड्काले जनताका नाममा सरकारले छुट्याएको बजेटमा सेटिङ र कमिशनको खेल चलाइरहेको भन्दै गुरुङले त्यस्ता मन्त्रीलाई कुनै पनि बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्नसक्ने बताउनुभयो ।

‘अहिले प्रदेशमन्त्री रहनुभएका व्यक्तिहरूले जुन प्रकारले प्रचार गर्नुभएको छ । एमालेकाप्रति आरोप लगाइरहनुभएको छ ती व्यक्तिहरूलाई कुनै पनि बेला अख्तियारले समात्न सक्छ । किनभने उनीहरूले सेटिङ चलाएका छन्, जनताको नाम दिएर ल्याइएको बजेटमा सेटिङ र कमिशनको खेल खेलिरहेका छन् ।’ उहाँले भन्नुभयो ।

आर्थिक क्रान्तिको नेतृत्वका लागि नयाँ उम्मेद्वार

पूर्वमन्त्री गुरुङले राजनीतिक परिवर्तनसँगै दोलखाको आर्थिक क्रान्तिको नेतृत्वका लागि व्यवसायिक पृष्ठभूमिसमेत भएका बालकृष्ण शिवाकोटीलाई एमालेले नयाँ र युवा उम्मेदवार अगाडि सारेको पनि प्रष्ट्याउनुभयो ।

‘आज हाम्रो उम्मेदवार बालकृष्ण शिबाकोटी हुनुहुन्छ । आनन्द प्रसाद पोखरेल पुरानो र पार्वत गुरुङले पनि दुई–दुई पटक निर्वाचन जितिसकेको भन्ने कुरा उठिसकेपछि हामीले नयाँ र युवा पङ्क्तिबाट उम्मेदवार खडा गरेका छौँ । उहाँ नेकपा एमालेमा लामो राजनीतिक पृष्ठभूमि भएको व्यक्ति हुनुहुन्छ । दोलखाको आर्थिक समृद्धि र आर्थिक रूपान्तरणका निम्ति उहाँलाई अगाडि सारेका हौँ । किनभने उहाँ व्यावसायिक पृष्ठभूमी भएको व्यक्ति पनि हो । लगानीमैत्री वातावरण निर्माणको कामको उहाँले नेतृत्व गर्नुहुनेछ’, उहाँले भन्नुभयो,‘नेपालको समग्र अर्थतन्त्र, उद्योग, व्यवसाय र दोलखाको आर्थिक अवस्थाबारे राम्रो ज्ञान राख्नुभएको छ । उहाँबाट दोलखामा लगानीमैत्री वातावरण निर्माण गर्न सकिन्छ भन्ने विश्वास पार्टीले गरेको छ । किनकी दोलखाबाट राजनीतिक परिवर्तनको नेतृत्व हामीले गर्यौँ, अब खाँचो आर्थिक क्रान्तिको हो र हामीले त्यसको नेतृत्व उहाँबाट गराउन चाहेका हौँ ।’