जनता टाइम्स

२६ कार्तिक २०७९, शनिबार १६:१९

जनताको हरेक समस्या समाधान गर्न काठमाडौं–१ मा मैले जित्नैपर्छ : किरण पौडेल


काठमाडौं, २६ कात्तिक । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं–१ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताउनुभएको छ । आज काठमाडौं– १ मा चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले अहिलेका जनप्रतिनिधिहरु ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्ने कुराको महसुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताउनुभयो ।

‘१५ वर्षदेखि यहाँका मतदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा हामी छौं’ उहाँले भन्नुभयो । नेता पौडेलले काठमाडौं–१ का मतदाताहरुले निर्वाचन क्षेत्रका अन्य प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको दाबीसमेत गर्नुभयो ।