शशि पन्थी/भैरहवा । शनिबार विहान करिब ९ बजे तिर भैरहवाको मालटोलमा एकजना मान्छेको वरीपरि झुम्मिएका मानिसहरु देखेपछि हाम्रो टीम केही बेर रोकियो । अनि नजिकै बसेर त्यहाँको दृश्य हरियो । दृष्य अनौठो थियो ।
करिब ४२/४३ बर्ष उमेरका जस्ता देखिने एकजना मधेसी समुदायका ती अधबैंशे पुरुषले त्यहाँ रहेका ६/७ जना केटाकेटिलाई मिठाई दिदै भने, ‘यो मिठाई तिमिहरु प्नि खाऊ घर लगेर सबैलाई बाड है । अनि मिठाईको खोलमा भएको चुनाब चिन्हमा घरका मान्छेलाई भोट हाल्न भन ।’ केटाकीिटहरु खुसी हुँदै दौडिए । त्यो मान्छे साईकल लिएर हिड्यो ।
दौडिरहेका एकजना करिब ११ बर्षीय एक बालकलाई रोकेर हामीले सोध्यौं, ‘बाबु अघिको मिठाई देखाउ त कस्तो रहेछ । ती बालकले देखायो । हामी त अच्चमित भयौं । मिठाईको खोलमा रुख र साईकल चुनाब चिन्ह अंकित थियो । हामीले त्यो साईकलवालालाई पिछा गर्ने कोशिस गर्यौं तर त्यो व्यक्ति गाउतिर कता गयो भेट्टाउन सकिएन ।

रातो रंगको साईकल र उक्त साईकल माथि हरियो रंगको स्वस्तीक छापा लगाएको मिठाईको सेतो खोलमा हरियो अक्षरले ‘साइकलमा भोट हालौं साथी’ लेखिएको थियो । यसैगरी अर्को त्यस्तै मिठाईमा हरियो रंगको रुख चिन्हमा रातो रंगको स्वस्तीक छाप तथा रातो रंगको अक्षरले चुनाब चिन्ह रुखमा भोट हालौ साथि लेखिएको छ । उक्त मिठाई भैरहवाको एक मिठाई उत्पादकको बनाएको बुझिएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन प्रचारमा बालबालिकालाई लक्षित गरी बाडिएको मिठाईको खोलमा न उत्पादन मिति छ, नत उत्पादक कम्पनीको नाम नत गुणस्तरीयताको विषयमा केही उल्लेख गरिएको छ । यसरी राज्यको कानुन कार्यान्वयन गराउने मुख्य जिम्मेवारी सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नम्बर ३ को भैरहवा क्षेत्र, अमुवा, फर्साटिकर, सेमलार, चिल्हीया, ठुटीपिपल, बसडिलवाको ग्रामिण क्षेत्रका बालबालिकालाई ललीपप प्रकारको मिठाई बाड्न साईकलमा मान्छेहरु खटाइएको देखिएको छ ।
यसैगरी निर्वाचन आचार संहिता विपरित चुनाबको मुखमा केही दिन अगाडि तक्मा बाडिएको थियो । आफ्नो सहोदर भाई रामकृष्ण खाण जो नेपाली कांग्रेस रुपन्देहीको सभापति र तिलोत्तमा नगरको प्रमुख समेत छन । उहाँको प्रमुख आतिथ्यतामा भैरहवामा एक कार्यक्रम गरी तक्मा बाडनु भएको छ ।
दुई बर्ष सम्म भैरहवाका व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुखलाई सरकारी तक्मा बाडनु भएका खाणले चुनाबको मुखमा आएर विभिन्न समाज सेवा पदक भन्दै तक्मा बाडनु भएको हो । रुपन्देही युवा समुहको नाममा बाडिएको उक्त तक्मा विगतमा सरकारी तक्मा नपाएकाहरुलाई खुसी पार्न दिएको हो ।
यता खाणले होटल पौवा र मौर्यमा खाना, बस्न र मदिरा सेवनको लागि होटल नै फ्री गरिदिनु भएको छ । गृहमन्त्री भएको समयमा निर्वाचन नजितेमा उहाँ रुपन्देहीको राजनीतिबाट विस्थापित नै हुने देखिन्छ । यसैले उहाँले मतादाता फकाउन अनेक हतकन्डा अपनाइरहनु भएको छ । कांग्रेसका असन्तुष्ट पक्षलाई बढी प्राथमिकता दिएर टोलटोलमा आयोजित कार्यक्रममा आफुसँगै अतिथी बनाउने, अंकमाल गर्ने गरिरहेका खाणको अगाडि शैलेश पन्तको टाउको फुटाउनेहरुको मुद्धा दर्ता नगरेको मुद्धा पेचिलो बनिरहेको छ ।
अर्कोतिर घनश्याम भुसाल निकट एमालेका केही नेताहरुलाई फकाउने रणनीति खाणले बनाएको भएता पनि डा. रामप्रसाद बस्याल, जिवलाल अर्याल, हरि अधिकारीहरु एक कदम अगाडि बढेर खाणको प्रतिस्पर्धी दीपक बोहोराको चुनाबी कमान्डर बनेपछि उहाँ रनभुल्लमा पर्नुभएको छ । खाणलाई यतिबेला मुख्यतया आगामी स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगरको मेयरको टिकट कन्फर्म गरेर आर्थिक संयोजनको जिम्मा लिनुभएका व्यवसायी कृष्णप्रसाद शर्माको छ ।
शर्माले खाणको चुनाबी खर्चको ५० प्रतिशत क्रसर व्यवसायी र तिनाउ, दानवमा ढुंगा गिट्टी उत्खनन गर्नेहरुसँग संयोजन गरी व्यवस्थापन गरिदिने भएका छन् । त्यसको प्रतिफलमा शर्मालाई भैरहवामा कांग्रेसले मेयरको टिकट दिने भएको छ भने चुनाबसम्म प्रहरी प्रशासनले तिनाउ र दानबतिर फर्केर नजाने भएको छ । प्रहरी प्रशासनले आँखा चिम्लिएपछि यतिबेला खोलामा ठेकेदारहरुले रातदिन उत्खन्न कार्य गरिरहेका छन । जबकी पालिकाहरुले ढुंगा गिठ्ठी बालुवा उत्खननको लागि ठेक्का लगाईसकेका छैनन ।
यसैबीच भैरहवामा बैकल्पिक शक्तिको रुपमा रहेका लौरो चुनाब चिन्हसहित हानेपाबाट रुपन्देहीको विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रख्यात बन्जाडे, भिष्म राना, खड्क राना र गोपाल भण्डारीले गृहमन्त्री बालकृष्ण खाणले शक्तिको दुरुपयोग गरेर आचार संहिता अनुसार काम गर्दा समेत प्रहरी मार्फत बारम्बार तनाब दिने काम गरेको बताउनु भएको छ । अर्का स्वतन्त्र उम्मेदवार केशब विक्रम खड्काले प्रहरी प्रशासनले आफ्नो सवारी साधनलाई बारम्बार चेकजाच गर्ने, दुख दिने काम गरेको बताउनु भयो ।
यता निर्वाचन अनुगमन आचार संहिता अनुगमन समिति रुपन्देहीको संयोजक विष्णु ज्ञवालीले मिठाईको खोलमा रुख र साईकल चुनाब चिन्ह राखेर बाडेको भेट्टाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले कारबाहिको लागि आयोगमा लेखि पठाएका छौं, आचार संहिता उलंघन गर्ने जो सुकै भएपनि कारबाही हुन्छ ।













प्रतिक्रिया दिनुहोस्