काठमाडौं, कात्तिक २७ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई जिताउन अपिल गर्दै चर्चित अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी मतदाताको घरदैलोमा अभियानमा सहभागी हुनुभएको छ ।
नायिका करिष्मा र आकाशले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलको चुनावी अभियानमा साथ दिनुभएको हो । उहाँहरु आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धारामा पोखरेलको घरदैलोमा कार्यक्रममा सहभागी हुनुभयो ।
आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको र जनताको माझमा भिजेको बताउनु भयो । काठमाडौं क्षेत्र नम्बर ५ मा पोखरेलको विकल्प नभएको उहाँको भनाई छ ।

देश विकासको लक्ष्य लिएर अगाडि बढेको एक मात्र पार्टी एमाले रहेको भन्दै अभिनेत्री मानन्धरले एमालेले जिते मात्रै देशले काँचुली फेर्न सम्भव रहेको प्रतिक्रिया दिनुभयो ।
‘नेपाली जनताले विकास के हो भन्ने कुरा राम्रो अनुभुति गर्न नपाएको बेलामा केपी शर्मा ओलीको नेतृत्वमा एमालेले जनतामा विकासको अनुभुति गराउन सफल भयो । त्यसैले यो पटकको भोट एमालेलाई,’ अभिनेत्री मानन्धरले भन्नुभयो ।

घरदैलोका क्रममा वडा नम्बर ३ का जनताले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भव्य स्वागत गर्दै जितको शुभकामना दिएका थिए । जनताको सद्भाव र विश्वासप्रति आफू नतमस्तक रहेको भन्दै पोखरेलले सदैव जनताको सुख दुख र विकासमा आफू सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधिसभामा पोखरेल तथा प्रदेशसभा ५ (१) मा नारायण सिलवाल र ५ (२) मा दीपक निरौला उम्मेदवार हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्