जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार १५:४४

मणिराम फुँयाल : इमानका गुरु, हिड्दैछन मतदाता कहाँ खुरुखुरु


काठमाडौं, कात्तिक २७ । मुलुकभर यतिखेर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको रौनक छ । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मत आफ्नो पक्षमा पार्न विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरु अहिले मतदाताका घर चहारिरहेका छन् । उम्मेदवारको भीडमा नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि अन्य ठाउँको तुलनामा अलि फरक स्वभावका व्यक्तित्वलाई उम्मेदवार बनाएको छ । कम बोल्ने तर तार्किक प्रस्तुति भएको व्यक्तित्व हुनुहुन्छ मणिराम फुँयाल ।

विगतमा शिक्षण र राजनीतिलाई सँगसँगै अगाडि बढाउनु भएका फुँयाल एक कार्यकाल प्रदेशसभाको अनुभवसहित प्रतिनिधिसभामा उक्लिन लाग्नुभएको हो । सकेसम्म सबैलाई राम्रो गर्ने तर नराम्रो कसैलाई नगर्ने फुँयालको बिशेषता हो । ‘मैले पहिलादेखि नै भन्दै आएको छु, अहिले पनि दोहोर्याएर भन्छु– म समाजले, कानुनले गलत भनेका कुरा ज्यान गए पनि गर्दिन,’ फुँयाल भन्नुहुन्छ, ‘राम्रो कुरा मेरो बुद्धि, विवेक र बर्कतले भएसम्म इमानका साथ गर्छु । नराम्रो नगरिदिए मात्रै पनि देश बन्छ क्या ।’

विक्रम संवत २०२२ सालमा काठमाडौंको मूलपानीमा जन्मिनुभएका फुँयाल शिक्षा शास्त्रमा स्नातकोत्तर तथा वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण हुनुहुन्छ । विद्यार्थी कालदेखि राजनीतिमा लाग्नुभएका फुँयाल २०४९ सालदेखि शिक्षण पेशामा सक्रिय हुनुभयो । उहाँले २०६५ सालदेखि २०७३ चैत्रसम्म मूलपानीस्थित नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको प्रधानाध्यापक तथा प्राचार्यको जिम्मेवारीसमेत सम्हाल्नु भयो । फुँयाल मुलुकभरका सरकारी स्कुलको शैक्षिकस्तर खस्किरहेकै बेला नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुभएको थियोे ।

छोटो समयमै स्तर खस्किएको स्कुललाई उत्कृष्ट विद्यालय बनाउन सफल हुनुभयो । फुँयालकै नेतृत्व र सक्रियतामा नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय +२ तह बन्न सफल भएको हो । शिक्षण पेशा र प्रदेशसभा सदस्य रहकै बेला फुँयालले काठमाडौं क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा भौतिक सुधारका धेरै कार्य गर्नुभएको छ ।

‘जुन सुकै पेशा वा व्यवसायमा रहे पनि मान्छे इमानदार हुनुपर्छ, इमान्दार बन्नुपर्छ, बेइमान कसैलाई पनि गर्नु हुँदैन’ भन्ने फुँयालको मान्यता छ । यही मान्यताकै कारण फुँयाल मूलपानीमा मात्रै होइन, काठमाडौं क्षेत्र नम्बर २ मा नै ‘इमानका गुरु’ का रुपमा चिनिनु हुन्छ । तिनै ‘इमानका गुरु’ काठमाडौं क्षेत्र नम्बर २ नेकपा एमालेको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर मत माग्दै हिडिरहनु भएको छ खुरुखुरु । ‘इमानका गुरु’ फुँयालले स्थानीय बासिन्दासँग मत मात्रै माग्नुभएको छैन, समाजलाई इमानयुक्त बनाउन खबरदारी समेत गरिरहनु भएको छ ।

उपत्यकाको पूर्वी भेगस्थित काठमाडौं क्षेत्र नम्बर २ मा ८२ हजार ९ सय ७० मतदाता छन । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाको ४ देखि ९ र शंखरापुर नगपालिकाको सबै (१ देखि ९) वडा पर्दछ । यस क्षेत्रमा प्रतिनिधिसभाको लागि एमालेबाट फुँयालको साथै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्ती पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दलका २० र अन्य १० उम्मेदवार समेत चुनावी मैदानमा होमिएका छन् । चुनावी अभियानमा एमाले उम्मेदवार फुँयाल अन्य उम्मेदवार भन्दा फरक शैलीमा मुस्कानसहित प्रस्तुत हुँदै आउनु भएको छ ।

मतदाताको सजिलोको लागि फेरेनन मोबाइल नम्बर

अधिकाँश नेताहरु चुनाव जितेपछि मोबाइल नम्बर फेर्ने, कार्यकर्ता तथा बासिन्दासँग टाढा हुने गर्छन । तर एमाले नेता फुँयाल भने त्यस्तो प्रवृतिको विरोध हुनुहुन्छ । उहाँले पहिलो पटक लिएको नेपाल टेलिकमको प्रिपेड नम्बर नै प्रयोग गर्दै आउनु भएको छ । नेताले मोबाइल नम्बर फेरिरहँदा बासिन्दालाई गाह्रो हुने फुँयालको भनाई छ ।

‘म विद्यालय चलाउँदा पनि विद्यार्थीले खोज्दा पनि पाउनुपर्छ, शिक्षकहरुले खोज्दा पनि पाउनुपर्छ, अभिभावकले खोज्दा पनि पाउनुपर्छ भने मोबाइल नम्बर ब्ल्याकबोर्डमा लेखेर टिपाउने हेडमास्टर हुँ’ उहाँ भन्नुहुन्छ, ‘त्यही नम्बर हो मैले अहिलेसम्म बोकेको । सेट फेरियो, नम्बर फेरिएन । किन भने मलाई खोज्ने त एउटा सर्कल बनिसकेको छ नी, उहाँहरुले खोज्दा पनि पाइन्न भने मोबाइल किन बोक्नु ? किन सार्वजनिक जिम्मेवारी लिनु ?’

२०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई समेत पराजित भएको यो क्षेत्रको निर्वाचनको बेला निकै चासो र चर्चा हुने गरेको छ । तत्कालीन अवस्थामा काठमाडौंमा ५ क्षेत्र हँुदा क्षेत्र नम्बर १ रहेको यस ठाउँलाई एमालेले आफ्नो पक्कड क्षेत्र मान्दै आएको छ ।

२०४८ सालको वैशाख २९ गते संसदीय निर्वाचनमा यस क्षेत्रमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रधानमन्त्री भट्टराईलाई ७ सय ५१ मत अन्तरले पराजित गर्नुभएको थियो । २०५० साल जेठ ३ गते एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा मदन पत्नी तथा हालकी राष्ट्रपति विद्यादेवी भण्डारीेले समेत कांग्रेस सभापति भट्टराईलाई पराजित गर्नुभएको थियो ।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी समेत २०५१ सालको मध्यावधि निर्वाचनमा यही क्षेत्रबाट भारी मतान्तरले विजयी हुनुभएको थियो । दुई क्षेत्रबाट निर्वाचितले एउटा क्षेत्र छाड्नु पर्ने प्रावधान अनुसार अधिकारीले यो क्षेत्र छोड्नु भयो र त्यसपछि भएको उपनिर्वाचनमा साहित्यकार नारायण ढकाल विजयी हुनुभयो । सादगी प्रधानमन्त्रीको रुपमा परिचित अधिकारी २०५६ को संसदीय निर्वाचनमा यही ठाउँबाट उम्मेदवार बन्नुभएको थियो तर उहाँको चुनावी दौरानमै निधन भयो ।

अधिकारीको चुनावी अभियानमै निधन भएपछि एमालेबाट प्रदिप नेपाल उम्मेदवार बन्नुभयो र पार्टी विभाजन गरी मालेको महासचिव बन्नुभएका वामदेव गौतम भारी मतान्तरले पराजित गर्नुभयो । त्यसपछि यो क्षेत्रबाट एमालेकै उम्मेदवारका रुपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत २ पटक विजयी हुनुभयो ।

२०६४ र २०७१ सालको उपनिर्वाचन बाहेक सबै चुनाव एमालेले जित्दै आएको छ । एमालेले काठमाडौं २ मा ‘इमानका गुरु’ फुँयालले विगतदेखिको विरासत कायम राख्ने ठोकुवा गरेको छ ।