बुटवल, कात्तिक २७ । पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताउनु भएको छ ।
एमाले उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताउनु भएको हो । आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्तरगत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै उहाँले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकताहरुलाई एकीकृत गरी योजनावद्ध विकास गरिने बताउनु भयो ।
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अव मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताउनु भयो । प्रत्येक जनताका घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने उहाँको भनाई छ । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्य लगायतका सबै आवश्यकताहरुलाई पूरा गर्ने गरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको बिकास गर्ने योजना पनि उहाँले सुनाउनु भयो ।
सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट बिकास सिक्न आउने नमूनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै पौडेलले जनतामा विकासको भोक जाग्न थालेको बताउनु भयो । नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाहरुले जनतामा विकास भोक जनाएको बताउँदै उहाँले जनतामा विकास आवश्यकताहरु बारे खुलेर बोल्नसक्ने अवस्थाको विकास भएको उल्लेख गर्नुभयो ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताउनु भयो । दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाढेर नहुने बताउँदै उहाँले ती योजनाहरु पूरा गर्न सक्छौं भनी जनतासामू ग्यान्टि गर्नुपर्ने उल्लेख गर्नुभयो ।
‘अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौं, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन,’ श्रेष्ठले भन्नुभयो, ‘ नेकपा एमालेले जनतासँग गरेका ग्यारेन्टि पूरा गर्न प्रतिवद्ध छ ।’ आगामी मंसिर ४ को निर्वाचनमा ढुक्क भएर सूर्यमा मतदान गर्न आग्रह गर्दै उहाँले मुलुको समृद्धिका लागि एमाले मात्रै सक्षम दल भएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्