जनता टाइम्स

२८ कार्तिक २०७९, सोमबार ०९:३८

खोटाङका राजेशले जिते सिंगिङ सुपरस्टारको पहिलो उपाधि


खोटाङ, २८ कात्तिक । खोटाङका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जित्नुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका राईले भ्वाईस स्टार नेपालले निर्माण गरेर ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जित्नुभएको हो ।

हिजो भएको फिनालेमा प्रथम स्थान प्राप्त गर्नुभएको गायक राईले २० लाख नगद र म्युजिक नेपालसँग सम्झौता लगायत पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँ विगत १३ वर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत हुनुहुन्छ । फिनालेमा नामगेल लामा फस्ट रनर अप र दीपक सापकोटा सेकेन्ड रनर अप हुनुभएको छ। कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो ।