काठमाडौं, २८ कात्तिक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा मौन अवधि नरहेको बताउनुभएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति बैठकलाई सोमबार सम्बोधन गर्दै उहाँले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि नराखिएको जानकारी दिनुभयो । तर, मतदानको ४८ घण्टादेखि चुनावी प्रसारप्रचार गर्न नपाइने उहाँले बताउनुभयो ।
मौन अवधि नरहेकाले मतदानअघिको ४८ घण्टाको समयलाई व्यवस्थित बनाउने काम भइरहेको जानकारी दिनुभएका उहाँले उक्त अवधिलाई यसपटक मौन अवधि नभएको र प्रचारप्रसार गर्न पनि प्रतिबन्ध लगाइएको बताउनुभयो।
उक्त समयावधिमा हुन सक्ने आचारसंहिताविपरीतका गतिविधिलाई रोक्ने गरी आयोगले काम गरिरहेको जानकारी दिनुभएका प्रमुख आयुक्त थपलियाले यस पटक धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए । १ मंसिर रातीदेखि प्रचारप्रसार गर्न नपाइने उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्