जनता टाइम्स

२८ कार्तिक २०७९, सोमबार १६:५८

चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ : अध्यक्ष ओली


काठमाडौं, २८ कात्तिक । एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताउनुभएको छ । सिन्धुलीमा आज आयोजित चुनावी सभामा उहाँले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताउनुभयो । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताउनुभयो ।

ओलीले त्यस्तो शक्ति एमाले रहेको उहाँको दाबी थियो । बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उहाँले दाबी गर्नुभयो । ‘महिनवारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,’ उहाँले थप्नुभयो,‘यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’

ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गर्नुभयो । उहाँले सहिद ऋषिराज देवकोटाको विषयमा प्रकाश पार्नुभएको थियो । ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ (ख) बाट उम्मेदवार बन्नुभएको छ । ओलीले सिन्धुली–१ का एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट माग्नुभयो ।