जनता टाइम्स

३० कार्तिक २०७९, बुधबार १३:४५

आज र भोली चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली प्रदेश १ मा


काठमाडौं, ३० कात्तिक । देश दौडाहामा रहनुभएको एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रदेश–१ मा जानु भएको छ । निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष ओलीले आज प्रदेश–१ का तीन वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । एमाले स्थायी कमिटी सदस्य गुरु बरालका अनुसार अध्यक्ष ओलीले आज १२ बजे सुनसरीको दोहोबीमा र अहिले २ बजे लोकहीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै अध्यक्ष ओलीले आज साझ ६ बजे विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहको बरालले जानकारी दिनुभयो । विराटनगरको अन्तरक्रिया सकेर अध्यक्ष ओली आजै झापाको दमकस्थित आफ्नो निवासमा जानुहुनेछ । यस्तै अध्यक्ष ओलीले चुनावी प्रचारको अन्तिम दिन भोलि मंसिर १ गते झापाको दुई चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।

अध्यक्ष ओलीले भोलि झापाको क्षेत्र नम्बर–१ को काँकडभिट्टा र ५ को खजुरगाठिमा चुनावी सभालाई सम्बोधन गर्नुहुने चुनावी कमाण्डर देवेन्द्र दाहालले जानकारी दिनुभयो । भोलि राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुनेछ । त्यस समयमा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् ।