जनता टाइम्स

३० कार्तिक २०७९, बुधबार १८:०८

जोरजाम भएको गठबन्धन आवश्यक छैन, एमाले बाहेक अरू दलले देश विकाश गर्नै सक्दैन : अध्यक्ष ओली


काठमाडौं, ३० कात्तिक । एमाले अध्यक्ष केपी ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताउनुभएको छ । गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम गर्न सक्ने उहाँको भनाइ छ । आज सुनसरीको लौकीमा आयोजित चुनावी सभामा ओलीले अघिल्लो निर्वाचनमा एमाले दुई तिहाइ बहुमतको नजिक नभएको, अल्पमतमा परेकाले यसपटक बहुमत चाहिने बताउनुभयो ।

‘अघिल्लो निर्वाचनमा एमालेले बहुमत पाएको होइन । एमालेले प्रत्यक्षले ८० सिट र समानुपातिकमा ४१ सिट पायो । बहुमत ल्याउन सकेन । त्यही भएर त्यसबेलाको सरकारले पूर्ण कार्यकाल बिताउन सकेन,’ ओलीले भन्नुभयो, ‘अब एमालेले बहुमत पाएमा बलियो सरकार बन्ने बन्छ । सुदृढ सरकारले मात्र देश विकासको काम गर्छ ।’

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पालिमुनि गएर बसेको भन्दै उहाँको कडा आलोचना गर्नुभयो । प्रचण्डले पार्टी एकता गर्न नभई सिंगो पार्टी प्रतिक्रियावादीलाई बुझाउन एकताको नाटक गरेको आरोप लगाउनुभयो ।

उहाँले बालक, वृद्ध, महिला सबैको उत्थानको काम एमालेले मात्र गर्न सक्ने दाबी पनि गर्नुभयो । ओलीले कोरोना कालमा एमाले सरकारले धेरै राम्रो काम गरेको पनि जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकारले कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार गरेको आरोप पनि लगाउनुभयो ।