सुनसरी, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता समस्या एमालेले मात्रै समाधान गर्न सक्ने बताउनुभएको छ । आज सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताउनुभयो ।
अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै उहाँले मंसिर ४ गतेपछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान सुरु गर्ने बताउनुभयो । अध्यक्ष ओलीले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने बताउनुभयो ।
अध्यक्ष ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताउनुभयो । त्यस्तै उहाँले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहनुभएका विजयकुमार गच्छादार मतदाताको मन जितेर नभइ मतपत्र लुटेर चुनाव जित्दै आएको आरोप लगाउनुभयो ।
गच्छदार यसपटक चुनाव जितेर गएपनि संसद् भवन छिर्न नपाउने भन्दै ओलीले आफ्नो मत खेर नफाल्न मतदातालाई आग्रह गर्नुभयो । गच्छदारमाथि भ्रष्टाचार मुद्दा लागेको र निलम्वित व्यक्ति भएकाले उहाँको प्रतिस्पर्धी एमालेका उम्मेदवार भगवती चौधरीलाई जिताउन ओलीले आग्रह समेत गर्नुभयो । सेटिङबाट धरौटीमा छुटेकोलाई कांग्रेसले उम्मेदवार बनाएको ओलीको आरोप छ ।
अध्यक्ष ओलीले कांग्रेसले चुनावी घोषणापत्रमा अरु कुरा गर्छन् हामी काम गर्छौ भनेर लेखेको भन्दै एउटा राम्रो काम गरेको देखाउन चुनौती दिनुभयो । उहाँले एमाले बाहेक अरु दलहरुले देश हाँक्न नसक्ने भन्दै एउटा सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्