जनता टाइम्स

१ मंसिर २०७९, बिहीबार १४:०७

चुनावमा अवैध रकम परिचालनको जालो, नवलपुर–२ मा भित्रियो करौडौं रकम


नवलपुर, १ मंसिर । नवलपरासी पूर्व नवलपुरको क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बिष्णु कुमार कार्कीले निर्वाचन लक्षित गरि करोडौं रकम परिचालन गरिरहेको प्रमाणहरु फेला परेको छ । गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको नवलपुर क्षेत्र नं २ मा अन्तिम समयमा ठुलो रकम खर्चगरि टिकट हत्याएको आरोप लागेका कार्किले यतिबेला निर्वाचनको लागि ब्याकडेट चेकहरु बिक्रि गरिरहेको चर्चा बजारमा छ ।

विवादित व्यवसायीक पृष्ठभूमिका कार्कीले आफ्नो नाममा आएको मंसिर अन्तिम साताको दुई करोड ५० लाख बराबरको चेक स्थानीय होटल व्यवसायी मार्फत डिपोजिट गरी साटफेर गर्नुभएको थियो । स्रोतका अनुसार कार्कीले दुई करोड ५० लाख रुपैयाको चेक दिएर अहिले दुई करोडमा मात्रै भुक्तानी लिनुभएको छ ।

एक महिनाको बीचमा ५० लाख रुपैया नाफा हुने भएपछि स्थानीय एक होटल व्यवसायीले ति चेक डिपोजिट राखेर रकम भुक्तानी दिनुभएको छ । रुपन्देहीमा जग्गा तथा वित्तिय संस्थामा ठुलो लगानी रहेका बिनोद ज्ञवालीबाट सेन्चुरी बैंक लि. को चेक मार्फत कार्कीको नाममा २५ लाख रुपैया दरका दश वटा चेक काटिएको स्रोतको दावी छ । त्यसमध्ये ६ वटा चेकको फोटो प्राप्त भएको छ ।

ज्ञवालीबाट प्राप्त मंसिर २५ पछिको विभिन्न मितिका चेक कार्कीले मध्यविन्दु नगरपालिकामा सञ्चालित मिडपोइन्ट रिसोर्टकी सञ्चालिका खुस्बु चौधरी मार्फत अहिले नै साटेका छन् । कार्कीले उक्त रकम निर्वाचनमा परिचालन गर्नुभएको छ । क्रसर व्यवसाय, इट्टा उद्योग लगायतको व्यवसायमा संलग्न कार्कीले अन्य स्थानबाट समेत थप रकमको व्यवस्थापन गरि परिचालन गरेको उहाँ निकट स्रोतको दावी छ ।

नवलपुर २ नं क्षेत्रमा रहेका चार वटा स्थानीय तहका ४० वटा वडामा अहिले दैनिक रुपमा मेस सञ्चालन देखि मतदातालाई उपहार वितरण भइरहेको प्रमाणहरु समेत क्रमशः संकलन भइरहेको छ । मध्यविन्दु नगरपालिका ४ मा सञ्चालनमा रहेको उनकाले इट्टा भट्टाबाट मंगलबार मात्रै स्थानीय आमा समूह र युवा क्लवका युवाहरुलाई सदस्य संख्याको आधारमा रकम वितरण गरिएको छ ।

गत प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार तिलक महतसंग पराजित भएका कार्कीले यस पटकको निर्वाचनलाई प्रतिष्ठा संगै आफ्नो राजनितिको अन्तिम लडाईको रुपमा लिएको उनि निकट व्यक्तिहरु नै बताउँछन् । दश वर्ष अगाडी मात्रै व्यवसाय सञ्चालनको लागि नवलपुर आएका कार्कीले यस विच जिल्लाको नेपाली कांग्रेस राजनितिमा पकड जमाउने ध्येयले बिभिन्न हतकण्डा अपनाएका छन् ।

स्थानीय तहको चुनावमा आफ्नो शक्ति देखाउने होडमा जिल्लाका विभिन्न स्थानीय तहमा आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेर पराजित गराएको आरोप समेत कार्कीलाई लागेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा दुई वटा स्थानीय तह जितेको एमालेले यस पटक गठबन्धनका बाबजुद ६ स्थानीय तहमा जित निकालेको छ ।

विवादित पृष्ठ भूमिका कार्कीले दुई देखि तीन करोड रकम खर्च गरेर प्रतिनिधि सभा निर्वाचनको टिकट हत्याएको चर्चा जिल्लामा व्यापक छ । अर्वपति उद्योगी विनोद चौधरीले चुनाव लड्ने इच्छा जाहेर गरेको यस क्षेत्रमा कार्कीले चौधरीलाई समेत चक्मा दिएर अन्तिम समयमा टिकट हत्याएका थिए ।

गठबन्धनको भागबण्डा अनुसार नवलपुर क्षेत्र नं. २ माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रबाट टिकट पाएका किसन शर्मा गैह्रेले मनोनयन दर्ता गरेपछि कार्कीले काठमाण्डौंबाट नै उम्मेदवारी दर्ता गराउनुभएको थियो । पछि माओवादी केन्द्रका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

कार्कीले दश वर्षको बीचमा अवैध कारोबार र रकम चलखेलकै आडमा नै आफुलाई स्थानीय देखि जिल्ला तहमा स्थापित गर्न सफल भएका हुन् । विभिन्न व्यक्ति तथा संस्थालाई नगद दिएर आफ्नो प्रभाव स्थापित गराउन चाहेका कार्कीले केही सार्वजनिक संस्थाहरुमा बोलेका लाखौं चन्दा रकम अहिले पनि भुक्तानी दिन बाँकी रहेको सम्बन्धित संस्थाका पदाधिकारीहरुले सार्वजनिक गरेका छन् ।

क्रसर व्यवसायी कार्कीले पाँच वर्ष अगाडि साविक नवलपरासी जिल्ला हुँदा उहाँको अवैध डम्पिङ जफत गर्ने दुई जना एलडिओलाई राजनितिक पहुँचको आधारमा सरुवा गरेपछि उहाँको अवैध कारोबारको चर्चा सार्वजनिक भएको थियो । सो मुद्दा अझैपनि अदालतमा बिचाराधिन अवस्थामा रहेको छ ।