जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार २१:२६

एक लाख २० हजार क्युसेक नाघ्यो महाकालीमा पानीको बहाव : सतर्क रहन नदी तटीय क्षेत्रमा निर्देशन


कञ्चनपुर, साउन २१ । महाकाली नदीमा पानीको बहाव झनै बढ्दै गएको छ । पानीको बहाव बढेपछि नेपाल–भारत आवतजावत गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारीसाधान सञ्चालनमा रोक लगाएको छ ।

सोमवार रातिदेखि वर्षा हुँदा महाकालीमा पानीको बहाव बढेको हो । बहाव बडेपछि आज बिहानैदेखि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पानीको बहाव बढ्दै गएको छ । आज साँझको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख २० हजार आठ सय क्युसेक पुगेको छ । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यात्रु अलपत्र परेका छन् ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वर्षा अत्यधिक हुँदा नदीमा पानीको बहाव बढ्दै गएको हो । यसैबीच स्थानीय प्रशासनलेमहाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन निर्देशन दिएको छ ।