जनता टाइम्स

२ मंसिर २०७९, शुक्रबार १७:३८

मतदान गर्न जानका लागि सेना र प्रहरी मिलेर रातरात पुल निर्माण


जुम्ला, २ मंसिर । अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।

बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो । तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए ।

पुल नहुँदा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न जान स्थानीयलाई कठिन हुने थियो । पुल बनेपछि कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष हमालले बताए ।

उनका अनुसार स्थानीय वडापालिकाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा एक हप्तामा तीनवटा काठको पुल निर्माण भएको छ । पुल बनेसँगै कनकासुन्दरी–४ कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा जान सहज भएको हो ।

नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार निर्वाचनमा खटिएको नेपाली सेनाका आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जना नेपाली सेनाको टिमले मतदान केन्द्र जाने पुल बनाउन सहयोग गरेको हो ।