काठमाडौं, ३ मंसिर । गोरखा– २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । शनिवार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ ।
खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने त्यहा नभएको बुझिएको छ।आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ ।गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको नेपाल प्रेसलाई बताए । कुटपिट गर्ने अन्य तीन फरार छन् ।
अब्दुसको चुनावी प्रचारप्रसार सचिवालयका अश्विन दानीका अनुसार दुई दिनअघि एक अपरिचित नम्बरबाट फोन गरेर आफू वाईसीएलको सदस्य भएको भन्दै ज्यान जोगाउन धम्की दिएका थिए । रातिको घटनापछि अहिले सो क्षेत्र सम्भावित भिडन्तले तनावपूर्ण बनेको छ । यस क्षेत्रमा गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड प्रतिस्पर्धामा छन् ।













प्रतिक्रिया दिनुहोस्