जनता टाइम्स

३ मंसिर २०७९, शनिबार १२:०१

माओवादी उम्मेदवारसँग पैसा मागेर कांग्रेसले हैरान पारे


 

बिर्तामोड, ३ मंसिर ।  माओवादी केन्द्रका नेता रेवतराज पुरीले कांग्रेसलाई पाल्न गाह्रो भएको बताउनुभएको छ । उहाँको भनाई छ, ‘कांग्रेसलाई पाल्न गाह्रो छ भनेर हाम्रा अध्यक्ष कमरेड प्रचण्डले त्यसै भन्नुभएको होइन रहेछ । मैले दमक र कमलमा यही अनुभव गरिरहेको छु ।’

झापाको दमक स्थित आफ्नो निवासमा आज बिहान कार्यकर्ताहरुको भेलामा पुरीले उक्त विचार राख्नुभएको थियो । केही दिन पहिले अध्यक्ष कमरेड प्रचण्डले आफूलाई चितवनका कांग्रेस पाल्न नसकेर गोरखा जानुपरेको बताउनुभएको नेता पुरीले जानकारी दिनुभयो ।
नेता पुरी गठवन्धनको तर्फबाट झापा क्षेत्र नम्बर ५ को ‘ख’ मा प्रदेश सभाका उम्मेदवार बन्नुभएको छ । चितवनमा जस्तै झापामा पनि कांग्रेस पाल्नै नसकिने अवस्था रहेको पुरीको गुनासो थियो । चुनाव महंगो भएको, खर्च गर्न नसकिएको भन्दै पुरीले भन्नुभयो, ‘कांग्रेसको साधारण सदस्य समेत नभएको सामान्य समर्थकले समेत लाखलाख माग्छन् । यी कांग्रेसहरुले माओवादीसँग पैसा फल्ने रुख नै छ भन्ने ठानेका छन् ।’

‘हामीले गठवन्धन भन्यौं तर कांग्रेसका जिम्मेवार नेताहरु समेत पैसा बिना चल्दैनन् । ५० लाखको मोटर चढ्ने कांग्रेस नेताले पाँच लिटर भए पनि तेल माग्छन् । पैसा दिएर मात्र हुँदैन, तेल समेत दिनुपर्ने रे ।’

आफूले निर्वाचन आयोगले तोकेको भन्दा पाँच पैसा धेरै खर्च नगरेको जानकारी दिँदै कार्यकर्तालाई नेता पुरीले भन्नुभयो, ‘केपी ओली र उनको टिमले व्यापक धाँधली गर्ने तयारी गरिरहेको छ । प्रतिकार गर्न तपाईंहरु तयार रहनुहोस् ।’

उहाँले मौन अवधी र निर्वाचन आचार संहिता पूर्ण पालना गर्न पद्मनि कार्यकर्तालाई निर्देशन दिनुभयो । मौन अवधीमा केपी ओलीको टोलीले चलखेल गर्नसक्ने भएकाले सजग भएर लाग्न पनि निर्देशन दिनुभयो । उहाँको भनाई थियो, ‘यहाँ कांग्रेसको भर नपर्नुहोस्, हामी नै धाँधली र चलखेल रोक्न लाग्नुपर्छ ।’