सप्तरी, ३ मंसिर । मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी हुँदा समेत सप्तरीमा मतदाता शिक्षा दिन कोही पुगेका छैनन् । मतदाता शिक्षा दिनेहरू गाउँ टोलमा नपसेपछि भोलि कसरी मतदान गर्ने होला भनेर अलमलमा परेको राजविराज नगरपालिका(२ राजदेवी टोलकी सकिना खातुनले बताउनुभयो।
उहाँले भन्नुभयो,‘यसपालि मत कसरी हाल्ने ? थाहा नै छैन । पहिले पहिले त मतदाता शिक्षा लिएर घरघर आईपुग्थ्यो । यसपालि त कोही आएनन् ।’
राजविराज-४ मस्जिद टोलकी सुनिताकुमारी परियारले पनि मतदान गर्ने प्रक्रिया बिषयमा अनभिज्ञ रहेको बताउनुभयो। उहाँले भन्नुभयो ,‘मलाई भोट हाल्नु भनेर त धेरै आए । तर, मत कसरी हाल्ने कसैले सिकाएनन् ।’ सिंगो परिवार नै मत हाल्ने विषयमा अन्योल रहेको उहाँको भनाइ छ ।
पाँच वर्षमा चुनाव आउँछ । मत हाल्ने तरिका सधैं फरक हुन्छ । उस्तै भए पनि पाँच वर्षको कुरा याद नरहने मतदाताहरूको भनाइ छ । राजविराज– २ तितरीगाछीकी ८० वर्षीया सावित्री देवी देवले मतदाता शिक्षा नदिएका कारण भोट खसाल्न जानु की नजानु भएको बताउनुभयो ।
उनले भन्नुभयो ,‘हामी त झन वृद्धाअवस्थामा पुग्यौं हामीलाई सिकाएन भने हाम्रो उमेरको व्यक्तिले मत हाल्न सक्ने अवस्था छैन् ।’ तर, पनि चुनाव प्रचारप्रसारतर्फ अत्याधिक समय खर्चिने उम्मेदवारहरू मतदाता शिक्षातर्फ ध्यानाकर्षण नगरेको उहाँको भनाइ रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले पनि मतदाता शिक्षाप्रति चासो नदेखाएकले मतहाल्ने पूर्वसन्ध्यामा मतदाताहरू मतदान गर्ने तरिका बारे अन्योलमा रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्