जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १४:०७

शुभकामना ! योगेश दाइ


प्रकाश कुँवर/काठमाडौं

नेपालको राजनीति, यसमा हुने उतार–चढाव तथा दानवीकरण र देवत्वकरणका बारेमा म भन्दा जानकार पक्कै पनि योगेश दाइ नै हुनुहुन्छ । त्यसैले मैले यहाँ विस्तारित गरेका सुझाव उहाँका लागि सामान्य सुझाव मात्रै होलान् तर उहाँले मन्त्री पदको सपथ गर्दै गर्दा रंगिएको सामाजिक सञ्जालहरुले के देखाएको छ भने पक्ष–विपक्ष केहि नभनी उहाँ “साझा नेता” को रुपमा उदयीमान हुनुहुन्छ ।

हालसम्म दिने ठाउँमा नरहनु भएकाले पनि हुन सक्छ मानिसहरु तपाइको विरुद्धमा चर्किन पाएका छैनन्। त्यसैले अब दिने ठाउँमा हुनु भएपछि अझ बढी संयमित हुन आग्रह गर्न चाहान्छु । सामाजिक सञ्जालमा आफूले कुनै–कुनै मौकामा तपाईसँगको भेटमा लिएका तस्विर सहितका फोटोहरुले तपाईलाई बधाई दिई रहेका ती तमाम हालका समर्थकहरु अब कुनै नाता साईनो चिनजान जगाउँदै तपाईसँग आफ्ना स्वर्थ साट्न आउने नै छन् ।

राजनैतिक व्यक्तित्व तपाई उनिहरुसँग टाढा नै बस्नु भनेर त सुझाव दिन मिल्दैन तर उनीहरुसँग केही न केही रुपमा तपाई सजग भने हुनु नै पर्छ । किनकी भोली उनीहरुको स्वार्थसिद्ध नहुने वित्तिकै उनीहरु लगायतका झुण्डले समुह बनाएर तपाई माथि प्रहार गर्न पछिपर्ने छैनन् ।

मैले के भन्न खोजेको हुँ भने म जस्ता पात्रहरु जो हाल फोटो सहितले बधाई दिन तल्लिन हुँदै छन् तिनिहरु भोली घर पछाडीको देवी थानमा मन्दिर निर्माणको लागि पाँच लाख, जंगल भित्र शनिश्चरे पुजा गर्नका निमित्त दुई लाख, प्याराग्लाइडिङको सर्वेक्षणको लागि घर छेउको डाडो उपयुक्त देखिएकाले १० लाख भन्दै आउने छन् अनि तपाईले उनीहरुलाई निराश गराउनुभयोभने उनीहरुले नै अब तपाइलाइ हिलो छ्याप्न शुरु गर्नेछन । त्यसैले यस्ता पात्रहरुसँग तपाइ सबै भन्दा बढी सचेत रहनुहुन आग्रह गर्न चाहन्छु ।

अनि अर्कोथरी झुण्ड मिसन सहित लागेका हुन्छन । योगेशको छवि गिराउन पाएमा अन्तरपार्टी र बाह्य पार्टी पनि तपाई प्रतिको क्रेज घटाउन सकियोस भनेर । उनीहरुद्वारा पुर्वगही नियोजित समाचार सम्प्रेषण हुन थाल्नेछन् । तपाई काम भन्दा बढि ती समाचारका स्पष्टिकरणमा रुमल्लिनुहोस र तपाईलाई केहि पनि काम गर्न सक्ने होईन रहेछ, खपतका लागि मात्र बोल्ने रहेछ भनी साबित गराउन सकियोस भनेर । यस्ता प्रवृत्तिबाट म भन्दा बढि तपाईनै जानकार हुनुहोला ।

अर्को पाटो भनेको पर्यटन मन्त्रालय मातहतको नेपाल वायुसेवा निगम हो । यसमा जतिनै राम्रो काम गरेको भएता पनि हाल चर्चामा रहेको वाइडवडिको बिषयमामा स्पष्ट रुपले बोल्न सक्नु भएन र बोलीमा लटरपटर भयो भने तपाई अन्य जति सुकै राम्रा काम गरे पनि यसलाई मात्र नियोजित समाचार बनाईने छ । भिडियो क्लिपहरु साामाजिक सञ्जालमा छ्यापछ्याप्ती आउन थाल्नेछन । फोटोसप गरेका फोटोहरुले स्थान पाउन थाल्नेछन ।

जसरी तपाईका सहकर्मि स्वर्गिय रविन्द्र अधिकारीलाई गरिएको थियो । यी काममा सबैभन्दा क्रियाशील भएर सामाजिक सञ्जालमा भाइरल बनाउने काम ती म जस्ता पात्र कै हुनेछ । त्यसैले तपाइलार्इ फेरि पनि आग्रह गर्न चाहन्छु, म जस्ता मेरो काम योगेशले गरिदिएन् भन्ने पात्रहरुसँग धेरै चनाखो हुनुहोला । यीनीहरुलार्इ चुनौतीको रुपमा लिइ आफ्नो कायम रहेको छबिमा दाग लाग्न नदिनु होला ।

यी तमाम चुनौतीका पहाडबीच पनि तपाईसँग भ्रमण वर्ष २०२०, नीजगढ विमानस्थल, पुराना थाती रहेका काम अघि बढाई आफुलाई अब्बल सावित गर्ने अवसर पनि छ । अवसरका बारेमा मैले खासै उल्लेख गरिन किनकी तपाई यस विषयमा अवश्य पनि म भन्दा बढि जानकार हुनुहुन्छ । यी माथि उल्लेखित तपाईका चुनौतीहरुलाई छिचोल्दै देशवासी जनताको हितमा काम गर्नुहोस र हाल कायम रहेको “साझानेता” को छबी कायमै रहोस । शुभकामना योगेश दाइ,