लमजुङ, मंसिर ८ । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत पाउनु भएको छ ।
उहाँका प्रतिद्वन्द्वी देव गुरुङले ३१ हजार ७ सय ८१ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो । खनालका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ ।
यस निर्वाचनमा लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २ सय ३१ मत, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४ सय ५७ मत, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १ सय ४८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी आमूल परिवर्तन मसिहा पार्टीका नन्दजङ गुरुङले ६० मत, नेपाली कांग्रेस (बीपी) का लक्ष्मीकान्त पौडेलले ४९ मत, राप्रपा नेपालका टकबहादुर गुरुङले ३३ मत, स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले ३१ मत र नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापतिले २० मत ल्याउनु भएको छ ।
२०७४ को स्थानीय तह चुनावमा कांग्रेस–माओवादी केन्द्र तालमेल भइरहँदा लमजुङमा ‘बाम गठबन्धन’को सुरुवात भएको थियो । त्यसपछिको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावमा पार्टी एकीकरण गर्ने गरी तालमेल गर्दा देवप्रसाद गुरुङ एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्यमा उठेर निर्वाचित हुनुभयो ।
यसपटक कांग्रेसको सहयोगमा संसदमा जाने उहाँको रहर पूरा हुन सकेन । २०७४ मा देव गुरुङको सहयोगी पृथ्वीसुब्बाले अहिले तिनै देव गुरुङलाई हराउँदै ५ वर्षका लागि संसदको यात्रा तय गर्नुभएको छ ।
एमाले नेता पृथ्वीसुब्बा गुरुङ २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट एमालेका दिलबहादुर घर्तीलाई हराएर विजयी भएका र माओवादी केन्द्रका देवप्रसाद गुरुङले मनाङमा कांग्रेसका पाल्तेन गुरुङलाई हराएर सँगसँगै संविधानसभा प्रवेश गर्नुभएको थियो ।
मुलुकभर एमालेले चुनाव हारेर तेस्रो पार्टीमा खुम्चिँदा लमजुङमा भने पृथ्वीसुब्बाले जित्नुभएको थियो । २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा लमजुङ प्रदेश (२) बाट विजयी गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेर केही नयाँ काम गर्नुभयो ।
२०४८ मा चुनाव लडेका यी दुवै नेता अहिले ३ दशकपछि फरक–फरक पार्टीबाट आमने–सामने भएका हुन् । संसदीय राजनीतिमा पृथ्वीसुब्बा गुरुङले सातौंपटक चुनाव लड्दा नागरिकको प्रतिनिधि भएर यो समेत गरी ३ पटक संसद् प्रवेश गर्ने हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्