जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १३:३१

मकवानपुर-१ मा राप्रपाको सरप्राइज, कांग्रेस नेतृ डिनालाई हराउँदै दिपक सिंह बिजयी


हेटौंडा, मंसिर ८ । मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपकबहादुर सिंह अन्तिम समयमा अग्रता कायम गर्दै बिजयी हुनुभएको छ ।

सिंहले नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र एमाले उम्मेदवार बन्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दैप्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयरमा एमाले र सत्ता गठवन्धनका उम्मेदवारसंग प्रतिस्पर्धा गर्नुभएका सिंह प्रतिनिधी सभा सदस्य जित्न भने सफल हुनुभएको हो ।

पहिले आफु एउटै पार्टीमा रहँदा गुरु मान्दै आएका कमल थापा र कांग्रेसका सहमहामन्त्री डिनालाई पराजित गरेर सिंह विजयी भएपछि अहिले मकवानपुरमा निकै हलचल मच्चिएको छ । मतगणनामा सुरुवाती चरणदेखि नै पछि पर्नुभएका सिंहले हेटौंडा बजार र आसपासको क्षेत्रमा धेरै मत प्राप्त गर्दा बिजयी बन्नुभयो ।

सुरुवाती देखि गठवन्धनका उम्मेदवार महालक्ष्मी डिना उपाध्याय अगाडि लागेपनि हेटौंडाको धेरै वटा वडामा सिंहले धेरै मत पाउनु भएको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका थापा मतगणनामा सुरुवाती चरणदेखिनै दोस्रो स्थानमा रहनुभएको थियो ।