जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १६:१०

आफूले जितेको क्षेत्रमै दुई पूर्वमन्त्रीको जमानत जफत


काठमाडौं, मंसिर ८ । पूर्वमन्त्री एवं निवर्तमान सांसदद्वय जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र एमाले परित्याग गरेका रामवीर मानन्धरको जमानत जफत भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट पुनः प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नुभएका दुवै नेताले आफ्नो जमानत जोगाउन नसक्नु भएको हो । काठमाडौं क्षेत्र नम्बर ७ को कुल सदर मत ३६ हजार ६१ रहेको छ । तर श्रेष्ठले कुल सदर मतको ६.८ प्रतिशत र मानन्धरले ३.४ प्रतिशत मत मात्रै ल्याउन सकेपछि जमानत जफत भएको हो ।

सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । कानुनअनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।

०७४ को निर्वाचनमा यही क्षेत्रबाट मानन्धर विजयी हुनुभएको थियो । यसबेला उहाँले १८ हजार १०२ मत ल्याएर चुनाव जित्नुभएको थियो । यसपटक स्वतन्त्र उम्मेदवार बन्नुभएका मानन्धरले जम्मा एक हजार २१५ मत प्राप्त गर्नुभयो । यस्तै जसपाका उम्मेदवार श्रेष्ठले दुई हजार ४६१ मत प्राप्त गर्नुभयो । जमानत जफतमा पर्नेमध्ये श्रेष्ठ पूर्वमन्त्री र मानन्धर पूर्वराज्यमन्त्री हुन ।

यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले २४.२ अर्थात ८ हजार ७४३ मत प्राप्त गरी बिजयी हुनुभयो । काठमाडौं ७ मा प्रतिनिधिसभा सदस्यमा ३१ जना उम्मेदवार थिए । उम्मेदवार बनेकामध्ये श्रेष्ठ र मानन्धरसँगै २८ जनाको जमानत जफत भएको छ ।

प्रतिस्पर्धामा रहेकामध्ये उपविजेता नेकपा एमालेका श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराईले मात्रै जमानत जोगाउनु भएको छ ।