जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १६:५६

नयाँ सरकार गठनबारे प्रमुख दलका शीर्ष नेताहरू मौन


काठमाडौं, ८ मंसिर । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ८३ सिटको परिणाम आइसकेको छ । मतगणना भएका एक सय ६२ मध्ये ७८ को आइसकेको छ । तीन निर्वाचन क्षेत्रमा मतगणना नै हुन सकेको छैन । अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने स्पष्ट देखिइसकेको छ ।

त्यसैले समानुपातिक मतगणना भई सिट बाँडफाँड नभएसम्म नयाँ सरकारको स्वरूपबारे अनुमान गर्न निकै कठिन छ । त्यही भएर होला अहिलेसम्म प्रमुख वा विपक्षमा रहेका कुनै पनि दलले नयाँ सरकारको भविष्यबारे केही बोलेका छैनन् । आज निर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र बुझ्न र विजय र्यालीमा झापा पुग्नुभएको एमाले अध्यक्ष केपी ओलीले समेत नयाँ सरकारबारे केही बोल्नु भएको छैन ।

वर्तमान सरकारको आलोचना गर्दै उहाँले निर्वाचन शान्तिपूर्ण नगराएको, धाँधली गरेको, बुथ क्याप्चर गराएको बताउनुभयो । रौतहट १ बाट चुनाव जित्नुभएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नयाँ सरकारको भविष्यबारे अहिलेसम्म केही नसोचेको बताउनुभयो ।

चुनाव जितिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले निर्वाचनमा पार्टीले ल्याएको नतिजाबारे समीक्षा गर्ने भन्दै अब बन्ने सरकारबारे अहिले केही नबोल्ने बताउनुभयो । नेपाली कांग्रेसका शीर्ष नेता पनि नयाँ सरकार गठनको विषयलाई लिएर मौन छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केही अभिव्यक्ति दिनुभएको छैन ।

बरु कांग्रेस महामन्त्री गगन थापाले चुनाव जितेलगत्तै कांग्रेस संसदीय दलको नेतामा चुनाव लडेर प्रधानमन्त्रीको दाबी गर्ने बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अझै सार्वजनिक हुनुभएको छैन । निर्वाचनको दिन मतदान गरेपछि उहाँ घरमै आराम गरेर बस्नुभएको छ । उहाँ उम्मेदवार बनेको गोरखा २ मा अझै मतगणना जारी रहेको र पार्टीले अपेक्षित सफलता प्राप्त नगरेकाले पनि उहाँ बाहिर खुल्न नचाहेको बुझिएको छ ।