जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ०९:२९

सिन्धुपाल्चोक-२ मा ६४ वर्षपछि कांग्रेसले निकाल्यो जीत, एमालेका शेरबहादुरलाई हराउँदै मोहन बस्नेत निर्वाचित


सिन्धुपाल्चोक, मंसिर ९ । सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लोकप्रिय मत ल्याएर विजयी हुनुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ को मतान्तरमा पराजित गर्दै बस्नेत बिजयी हुनुभएको हो । २०१५ सालमा कांग्रेसका चन्द्रलाल श्रेष्ठले गोर्खा परिषद् पार्टीका उम्मेदवारलाई पराजित गरेपछि यो निर्वाचन क्षेत्रमा कांग्रेसले जितेकोपहिलो पटक हो । त्यसयता कांग्रेसका उम्मेदवारले यो क्षेत्र जित्न सकेका थिएनन् । २०७४ सालभन्दा पहिले सिन्धुपाल्चोकमा तीन निर्वाचन क्षेत्र थिए भने हाल दुई निर्वाचन क्षेत्र रहेका छन् ।

यो निर्वाचन क्षेत्रमा बस्नेतले ३९ हजार ३ सय ६७ मत प्राप्त गर्दा २०७४ को निर्वाचनमा जितेका तामाङले यो निर्वाचनमा भने २७ हजार ४ सय ९३ मतमात्रै ल्याउनु भयो । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिं श्रेष्ठले २ हजार ८ सय १९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २ हजार ५ सय ४३ ल्याउनु भएको छ ।

यो निर्वाचन क्षेत्रमा २०१५ सालयता कांग्रेसले जित निकाल्न सकेको थिएन । कांग्रेसका केन्द्रीय सदस्य बस्नेत माओवादीसँग गठबन्धन बनेपछि विगतमा आफू उम्मेदवार बन्दै आएको क्षेत्र परिवर्तन गरेर यहाँ आउनु भएको हो । यसअघिका निर्वाचनमा उनी सिन्धुपाल्चोक १ बाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो ।

बस्नेतले जितेको सिन्धुपाल्चोक २ मा प्रतिनिधिसभा निर्वाचन २०७४ मा कांग्रेसले उम्मेदवार नै उठाएको थिएन । उसले राप्रपा पूर्वअध्यक्ष पशुपतिशमसेर राणालाई समर्थन गरेको थियो । कांग्रेसको समर्थन पाएका राणा २०७४ मा एमालेका तामाङसँग पराजित हुनुभएको थियो ।

मतदाताले ६४ वर्षपछि कांग्रेसप्रति देखाएको विश्वास कम हुन नदिने बस्नेतले बताउनु भएको छ । यो निर्वाचन क्षेत्रबाट वाग्मती प्रदेशसभा सदस्यमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट कांग्रेसका कृष्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ । तामाङले १७ हजार ७ सय ५८ मत ल्याएर बिजयी बन्दा नेकपा एमालेका हस्त पण्डित १६ हजार २ सय ५३ मत ल्याएर पराजीत हुनुभएको छ ।