जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १७:५१

रूपन्देही –२ मा रोकिएको गणनाका लागि आयोगले दियो यस्तो निर्देशन (पत्रसहित)


काठमाडौं, ९ मंसिर । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुचारू गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीलाई निर्देशन दिएको छ । मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेको थियो । निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै आयोगले भनेको छ( ‘ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्नू ।’

गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानूनबमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ ।

मतगणना रोक्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो ।

शुक्रबार बिहानैको विवाद नसल्टिएपछि निर्वाचन कार्यालयले आयोगसँग राय मागेको हो ।