जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १९:२७

आइपुग्यो मास प्रिन्टर : स्मार्ट लाइसेन्स बितरणमा ढिलाईको समस्या हटदै


काठमाडौं, साउन २२ । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । यातायात ब्यवस्था बिभागका अनुसार आज दिउँसो मात्रै प्रिन्टर आइपुगेको हो । विभागका प्रवक्ता तीर्थराज खनालले एकडेढ महीनापछि सो उपकरण प्रयोगमा आउने बताउनुभयो ।

उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने खनालको भनाई छ । विभागले मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो । बिभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा रहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ खरीद गरेको हो । ‘प्रिन्टरले नियमित रुपमा काम गर्न शुरु गरेपछि अहिले रहेको समस्या समाधान हुनेछ,’ प्रवक्ता खनालले भन्नुभयो ।

सरकारले गतवर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरीद प्रक्रिया अघि बढाएको थियो । प्रिन्टर खरीदका लागि तोकिएको अवधि गत महीनामा नै सकिएको थियो । तोकिएको अवधिमा प्रिन्टर नआएपछि आफूहरु ठेकेदार कम्पनीलाई नियमित रुपमा घचघचाइरहेको विभागले जनाएको छ ।

विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ । विभागमा अहिले नौ वटा उपकरण रहेका छन् । तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता खनालले बताउनुभयो । विभागले नयाँ वा नवीकरणका लागि परेका आवेदनबाट एक वर्ष वा त्योभन्दा पहिलेदेखिको कार्ड छाप्न बाँकी छ ।

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाएका थिएनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । सेवाग्राहीले अति दुःख पाएपछि समस्या समाधानका लागि बिभागले मास प्रिन्टर नै खरिद गरेको हो ।