जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १३:०७

पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित


काठमाडौं, १० मंसिर ।  नेकपा (माओवादीं) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ ।

पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ । माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ ।

महोत्तरी–१ मा गिरीराजमणि पोखरेल र सर्लाही–२ मा महिन्द्रराय यादवले अग्रता कायम गर्नुभएको छ ।

माओवादीले जितेका निर्वाचन क्षेत्र यी हुन्
माओवादीले खोटाङ–१ मा जितेको छ । खोटाङ–१ बाट रामकुमार राई निर्वाचित हुनुभएको छ ।

भोजपुरमा सुदन किँराती, मोरङ–४ बाट अमनलाल मोदी, काभ्रे–१ बाट सूर्यमान तामाङ, नुवाकोट(१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक(१ बाट माधव सापकोटा र सिन्धुली–२ बाट लेखनाथ दाहाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, गोरखा–२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ–२ बाट देवेन्द्र पौडेल, दाङ–२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे) विजयी हुनुभएको छ ।

सुदूरपश्चिममा निल बन्यो माओवादी
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ । सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

कैलाली–२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर–१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित हुनुभएको छ। माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।