जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १७:०१

संचारमाध्यमलाई माओवादीको धम्की


दोलखा, मंसिर १० । नेकपा माओवादी केन्द्र दोलखाले अनलाईन संचारमाध्यमहरुलाई कारबाही गर्ने धम्की दिएको छ ।

दोलखा र काठमाडौंबाट संचालित अनलाईन संचारमाध्यमले आफ्नाबिरुद्ध आधारहिन समाचार लेखेको आरोप लगाउँदै माओवादी केन्द्रले कारबाहीको धम्की दिएको हो ।

सामाजिक संजाल फेसबुकमार्फत माओवादी केन्द्रले साझावोली, दैनिक नेपाल, दर्पण संचार, कान्तिपथलगायतका अनलाईन र त्यसका सम्पादक बिरुद्ध कानुनी प्रक्रिया अघि बढाईएको बताएको छ ।

‘लगातार लामो समयदेखि एकोहोरो माओवादीविरुद्ध मात्रै समाचारको नाममा जथाभावी आधारहीन कुराह लेखेर जनतालाई भ्रमित पार्ने अनलाईन र अनलाईनका सम्पादकविरुद्ध कानुनी प्रक्रिया अघि बढाईएको छ,’ माओवादी केन्द्रले उल्लेख गरेको छ ।

माओवादी केन्द्रले अनलाईन संचारमाध्यमको नामै किटेर कारबाहीको धम्की दिएपनि माओवादी बिरुद्ध कुनकुन समाचार आधारहिन थिए भन्ने विषय प्रष्ट पारेको छैन । चित्त नबुझेको समाचारको विषयमा आमसंचार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी ब्यवस्था छ ।

तर माओवादी केन्द्रले अनलाईन र त्यसमा आवद्ध संचारकर्मीलाई सामाजिक संजालमा स्टाटस मार्फत धम्की दिएको छ । माओवादीले बुथ कब्जाको बिषयमा यथार्थ कुरा जनतासमक्ष सार्वजनिक गरेको बिषयलाई आफूबिरुद्धको समाचार भनेको तथ्यहरुले प्रष्टै देखिएको छ ।