जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १४:२६

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु


काठमाडौं, ११ मंसिर । इलाम क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिनुभएको छ । उहाँलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहनुभएको छ ।

बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाउनुभएको छ ।

सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत रहनुभएको कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिनुभएको छ । उहाँले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहनुभएको छ । रोकिएको दुवै क्षेत्रको मतगणना अहिले भइरहेको छ ।