जनता टाइम्स

११ मंसिर २०७९, आईतवार २०:३९

समानुपातिक मतमा नेकपा एसलाई जनमतले उछिन्यो, पार्टी राष्ट्रिय दल बन्ने सम्भावना कमजोर


काठमाडौ, ११ मंसिर ।  समानुपातिक मतमा एमालेले कांग्रेसलाई सवा लाख मतले उछिन्दा,नेकपा एसलाई सीके राउतको जनमत पार्टीले उछिनेको छ ।९० लाख मत गनिसक्दा नेकपा एसले २ लाख ४१ हजार १६ मत पाउँदा जनमत पार्टीले २ लाख ४२ हजार ८१९ मत पाएको छ ।

पछिल्लो विवरण अनुसार एमालेले २४ लाख ५९ हजार १८८ मत प्राप्त गरेको छ भने काँग्रेसले २३ लाख ४१ हजार ९१५ मत प्राप्त गरेको छ ।यस्तै, नेकपा (माओवादी केन्द्र)ले १० लाख २९ हजार २८७ मत प्राप्त गर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख १३ हजार २६४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३३ हजार ६४२ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी, नेपालले भने ३ लाख ८ हजार ६७० मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ १० वटा सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समानुपातिकतर्फ कम मत आउँदा राष्ट्रिय दल बन्न गाह्रो देखिएको छ ।

राष्ट्रिय दलको मान्यता प्राप्त गर्नको लागि प्रत्यक्षतर्फको कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ पनि कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनु अनिवार्य छ ।निर्वाचन आयोगले यो चुनावमा कुल ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ ।

उदाहरणको लागि एक करोड मत सदर भयो भने राष्ट्रिय दल बन्नको लागि एकीकृत समाजवादी पार्टीको ३ लाख मत आवश्यक पर्दछ । तर अहिलेसम्म आएको मत र मतवृद्धिको दरलाई हेर्दा एकीकृत समाजवादीले तीन लाख मत ल्याउने सम्भावना कम देखिएको छ ।