जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार ०८:३४

राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै चीनमा उर्लियो मानवसागर


काठमाडौं, मंसिर १३ । चिनियाँ राष्ट्रपति सी चिनफिङले तेस्रो कार्यकाल सुरु गरेको महिना दिनमात्रै वितेको छ। महिना दिनमै चीनको विभिन्न सहरमा उनीविरुद्ध प्रदर्शन सुरु भएका छन्। चिनियाँ सर्वसाधारणहरू राष्ट्रपति सीको राजीनामा माग गर्दै सडकमा उत्रिएका छन्।

कात्तिक पहिलो हप्ता सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा महासचिवसमेत रहेका सीले ‘शून्य कोभिड नीति’लाई अनुमोदन गरेका थिए। तीन वर्षअघि वुहानबाट कोरोना संक्रमण सुरु हुँदा राष्ट्रपति सीले शून्य कोभिड नीति अवलम्बन गरेका थिए।

पछिल्लो समय चीनमा कोरोना संक्रमित दर बढिरहेको छ। संक्रमण बढेपछि त्यहाँको राज्य संयन्त्रले शून्य कोभिड नीतिअन्तर्गतका मापदण्डलाई कडाइ गरेको छ। जसका कारण चीनका सर्वसाधारणहरू आजित भएका छन्। त्यसकै विरोधमा चीनका प्रमुख सहरहरू बेइजिङ, संघाइ, सिनच्याङका जनताहरू सडकमा उत्रिएका छन्।

खाली कागजका ब्यानरसहित उनीहरूले राज्य संयन्त्रविरुद्ध प्रदर्शन गरेका छन्। त्यतिमात्र नभएर उनीहरूले भर्खरै तेस्रो कार्यकाल सुरु गरेका सीको राजीनामा माग गरिरहेका छन्। राज्यको खुलेर विरोध गर्न नसकेका चिनियाँ जनताहरू आफ्नो असन्तुष्टि व्यक्त गर्न खाली कागजका ब्यानर बोकेका हुन्।

ब्लुमवर्गमा लिन्दा लिउले चीनको शून्य कोभिड नीतिलाई संसारकै सबैभन्दा कडा नीतिको रूपमा ब्याख्या गरेका छन्। चीनमा अहिले पनि लाखौं जनताहरू कुनै न कुनैरूपमा लकडाउनको मारमा रहेका छन्। चीनको शून्य कोभिड नीतिलाई सीको गरिमासँग जोडिएको विषयवस्तु भएको र त्यही भएर पनि सीपीसीको महाधिवेशनमा सीले उक्त नीतिलाई अनुमोदन गराएको लेउले आखेलमा उल्लेख गरेका छन्।

चीनमा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिए उक्त व्यक्तिका बसोबास गर्ने स्थानदेखि कन्ट्रयाक्ट ट्रेसिङमा रहेका ठाउँहरुमा पनि लकडाउन गर्नेदेखि क्वारेन्टाइन बस्नेसम्म मापदण्डहरू लागू गरिएका छन्। कोरोनाविरुद्धको खोप लगाएर पनि सरकारले यस खालको नीति अवलम्बन गरेको भन्दै चिनियाँ जनताहरू आक्रोशित रहेको एजेन्सीहरुले उल्लेख गरेका छन्।

यसरी सुरु भयो प्रदर्शन

केही दिनअघि चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएको थियो। आगलागीमा दस जनाले ज्यान गुमाएका थिए। सीको शून्य कोभिड नीतिकै कारण उनीहरूको ज्यान गएको स्थानीयको भनाइ छ। लकडाउन भएका समयमै उद्धार हुन नसकेको त्यहाँ स्थानीहरूको आरोप छ। त्यह घटनाले चीनमा यतिबेला उग्र रूप लिएको हो। पर्यवेक्षकसमेत रहेका फ्रान्क साईले बीबीसीसँग संघाइको विरोध प्रदर्शन अहिलेसम्मै ठूलो रहेको बताएका छन्। उनले आफ्नो डेढ दसक बसाइमा यस्तो प्रदर्शन नदेखेको बीबीसीलाई बताएका छन्।

चीनको सानो ठाउँ उरुम्चीबाट सुरु भएको शून्य कोभिड नीतिविरुद्धको प्रदर्शनले सरकारलाई चुनौती थपेको विश्लेषकहरुले बताएका छन्। कम्युनिस्ट सरकारको ‘सेन्सरसिप’को मारमा रहेका जनताहरू आक्रोशित भएरै खाली कागजको ब्यानार लिएर विरोध उत्रिएको विश्लेषकहरुको भनाइ छ।