जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १७:४६

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह


काठमाडौं, १३ मंसिर । मेलम्ची नदीमा पानीको बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता अपनाउन मेलम्ची खानेपानी विकास समितिले आग्रह गरेका छ । एक सूचनामार्फत समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सुरु भएकाले पानीको बहाव घटबढ हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

सुरुङ प्रवेश मार्गबाट जुनसुकै समयमा पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको समितिले जनाएको छ । यस्तै उक्त स्थानहरूमा माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन समेत सूचित गरिएको छ । सरकारले पुसमै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने घोषणा गरेको थियो । सोहीअनुसार मेलम्ची सुरुङमा पानी छाडिएको छ ।