विराटनगर, मंसिर १४ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताउनु भयो । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
‘मुलुकको अर्थतन्त्र एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । जबसम्म मुलुक आर्थिक रुपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन,’ कोइरालाले भन्नुभयो, ‘तपाईंहरु बुद्धिजीवीहरुले देशलाई सही बाटोमा अगाडि बढाउनका लागि नेताहरुलाई खबरदारी गर्नुहोस् । कतै मैले पनि गलत गरें भने तत्कालै भन्नुहोला ।’
नेता कोइरालाले सुशासन, आर्थिक पारदर्सितालाई आफूले प्रमुख एजेण्डा बनाएको समेत सुनाउनु भयो । सुशासन बिना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउनेसमेत प्रतिबद्धता जनाउनु भयो ।
मुलुक अब यथास्थितिमा अगाडि बस्न नसक्ने बताउँदै कोइरालाले आर्थिक रुपमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ काम गर्नु आवश्यक रहेको औंल्याउनु भयो । ‘अब एकले अर्कोलाई दोष दिएर समय खेर फ्याल्नु हुँदैन । कसरी हुन्छ लगानीको वातावरण बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउनुपर्छ,’ कोइरालाको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्