काठमाडौं, १५ मंसिर । यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका तीनजना पूर्वअध्यक्षले चुनाव हार्नुभएको छ । निर्वाचनमा पराजित हुनेमा बलबहादुर केसी, बालकृष्ण खाण र गुरुराज घिमिरे हुनुहुन्छ । घिमिरे मोरङबाट प्रदेश सभा सदस्यमा उठ्नुभएको थियो तर, उहाँ एमाले उम्मेदवारसँग पराजित हुनुभयो । केसी सोलुखुम्बुबाट पराजित हुनुभएको हो ।
उहाँलाई एमाले उम्मेदवारले हराउनुभएको हो । सोलुखुम्बुमा एमालेले २५ वर्षपति सफलता पाएको हो । बहालवाला गृहमन्त्री खाण रुपन्देही ३ बाट पराजित हुनुभयो । उहाँलाई एमालेको समर्थनमा राप्रपाका उम्मेदवार दीपक बोहराले पराजित गर्नुभयो । खाण नेविसंघका साथै तरुण दलका पूर्वअध्यक्ष पनि हो । पार्टीमा बलियो पकड भएको खाणको हारलाई कांग्रेसमा अनपेक्षित भनिएको छ ।
नेविसंघका ६ पूर्वअध्यक्षले भने चुनाव जित्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संघको पूर्वअध्यक्ष हो । देउवासँगै ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, प्रदीप पौडेलले चुनाव जित्नुभएको छ ।
देउवा डडेल्धुरा, कार्की सुनसरी ४, साउन कञ्चनपुर २, शर्मा झापा १, राठौर बाँके ३ र पौडेल काठमाडौं ५ बाट निर्वाचित हुनुभएको छ । नेविसंघ र तरुण दलका पूर्वअध्यक्ष धनराज गुरुङ सम्भावित प्रतिनिधिसभा सदस्य हो । उहाँ उम्मेदवार बनेको स्याङ्जा २ मा मतगणना जारी छ । उहाँले एमालेकी सचिव पद्मा अर्याललाई १५ सय मतले पछाडि पार्नुभएको छ ।
संघकै पूर्वअध्यक्ष विमलेन्द्र निधि पनि सांसद हुनुहुने भएको छ । अघिल्लो निर्वाचनमा धनुषा ३ मा राजेन्द्र महतोसँग पराजित हुनुभएको निधि यसपटक समानुपातिक सूचीमा बस्नुभएको छ । कांग्रेसबाट प्रत्यक्षतर्फ महिला एकजना मात्र निर्वाचित भएकाले ३३ प्रतिशत पुर्याउँनै पर्ने बाध्यता भएकाले निधि बडो मुस्किलले सांसद हुने सूचीमा हुनुहुन्छ ।
कांग्रेसले ३२ सिट समानुपातिकबाट पाएमा २७ जना महिलालाई सांसद बनाउनुपर्ने अवस्था छ । नेविसंघका पूर्वमहामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी हुनुभएको छ । अर्का महामन्त्री कुन्दनराज काफ्ले दोलखा (क) बाट उम्मेदवार बन्नुभएको छ । उहाँको क्षेत्रमा आज मतदान भइरहेको छ । संघका अर्का महामन्त्री रामकृष्ण चित्रकार ललितपुर २ (क) बाट निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्