जनता टाइम्स

१६ मंसिर २०७९, शुक्रबार १७:१३

वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया


काठमाडौं, १६ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको बताउनुभएको छ । आज जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताउनुभएको हो ।

‘हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । अब छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्था गरिनुपर्छ भन्ने व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानूनको मस्यौदा पेश हुनेछ,’ उहाँले भन्नुभयो ।

थपलियाले निर्वाचन अधिकृतहरूलाई काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गर्नुभयो । यसपटकको आमनिर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउँदै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिनुभयो ।