जनता टाइम्स

१६ मंसिर २०७९, शुक्रबार १७:२४

संघीय सांसद निर्वाचित भइसकेका राजेन्द्र पाण्डे अझै मुख्यमन्त्री


काठमाडौं, १६ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री प्रतिनिधिसभा सदस्यमा विजयी भइसक्नुभएको छ । उहाँ धादिङ–२ बाट एमालेका भूमि त्रिपाठीलाई पराजित गर्दै विजयी बन्नुभएको हो । उहाँले निर्वाचित प्रमाणपत्रसमेत बुझिसक्नुभएको छ । तर अहिलेसम्म पनि पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको छैन ।

अघिल्लो निर्वाचनमा धादिङबाट प्रदेश सभा सदस्यमा विजयी भएका पाण्डे एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्रीमै रहेका बेला उहाँले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिई विजयीसमेत भइसक्नुभएको छ । तर, पाण्डेले प्रतिनिधिसभा सदस्य भइसक्दा पनि मुख्यमन्त्री पदबाट किन राजीनामा दिएका छैनन् भन्ने खुल्न सकेको छैन ।

निर्वाचन आयोगको कानुनमा समेत यसबारे प्रस्ट उल्लेख छैन । यदि उहाँ प्रदेश सभा सदस्यमा विजयी भएको भए मुख्यमन्त्री पदमै बहाल हुँदा पनि केही फरक पर्दैनथ्यो । तर, अहिले पनि उहाँ मुख्यमन्त्रीकै हैसियतमा क्रियाशील हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य भइसक्नुभएको उहाँले स्वेच्छाले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ ।