जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १४:४१

खानेपानीमन्त्री बीना मगरको अठोट : मेरै कार्यकालमा मेलम्ची सम्पन्न हुन्छ


काठमाडौं, साउन २३ । खानेपानीमन्त्री विना मगरले आफ्नै कार्यकालमा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने गरी काम अघि बढाइरहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाइसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले सो जानकारी दिनुभएको हो ।

मन्त्री मगरका अनुसार निर्माण गरिरहेको ठेकेदार कम्पनी नै टाट पल्टिएपछि पछिल्लो समय काम रोकिए पनि अब चाँडै गति लिने छ । ‘मेलम्ची खानेपानी आयोजनाको प्रक्रिया सुरु भएदेखि हालसम्म २४औँ पटक मन्त्री फेरिएको र २५औँ पटक मन्त्री फेरिनुअघि नै आयोजना सम्पन्न हुने गरी काम गरिरहेको छु,’ मन्त्री मगरले भन्नुभयो । विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसदहरू राजेन्द्रकुमार केसी, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, लक्ष्मी परियार, प्रकाश रसाइली स्नेहीलगायतले मेलम्ची आयोजनामा भइरहेको ढिलाइबारे प्रश्न गर्नुभएको थियो । सांसदहरूले नयाँ ठेक्काका नाममा अनियमितता बढ्दै गएको आरोपसमेत लगाउनुभयो ।

मन्त्री मगरले भने यसअघिका सरकारको उदासीनतालाई चिर्दै आयोजना सम्पन्न गर्न लागेको बताउनुभयो । ‘मेलम्ची सम्पन्न गर्ने अभिप्रायका साथ खटिएका छौँ । सुरुमा तीन वर्षसम्म सक्ने भनिएको योजना यतिका वर्ष लागिसकेको छ । अवरोध केही समय भयो । सिएमसी कम्पनी आर्थिक रूपमा टाट पल्टिनका लागि खानेपानीमन्त्री र सरकारको कुनै भूमिका छैन भन्ने आत्मसात् माननीयले गरिदिनुपर्‍यो,’ मन्त्री मगरले भन्नुभयो ।

उहाँले खानेपानीसम्बन्धी रहेको नीतिगत कतिपय समस्या फुकाउन मन्त्रालयले यो विधेयक संसदमा प्रस्तुत गरेको जानकारीसमेत दिनुभयो ।