जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १५:०३

पर्यटनमन्त्री भट्टराईको बटमलाइन : डिसेम्बर ३० सम्म जसरी पनि सम्पन्न हुनुपर्छ गौतमबुद्ध बिमानस्थल


भैरहवा, साउन २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भैरहवास्थित गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । निरक्षणको क्रममा मन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल आगामी डिसेम्बर ३० सम्म जसरी पनि सम्पन्न गर्नुपर्ने बटमलाइन सुनाउनु भयो ।

नेपाल भ्रमण वर्ष २०२० मनाउने भएकोले भ्रमण वर्ष सफल कि असफल हुन्छ भन्ने विषयसंग यो विमानस्थल र लुम्बिनी जोडिएको पर्यटनमन्त्री भट्टराईले बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि विशेष चासोको विषय गौतमबुद्ध विमानस्थल रहेको भन्दै उहाँले तोकिएको समयभित्र बिमानस्थल निर्माण सम्पन्न हुनैपर्ने बताउनु भयो ।

‘जुनसुकै अन्तराष्ट्रिय मञ्चमा पनि प्रधानमन्त्रीज्युले भन्नुभएको छ, डिसेम्बरमा हामी आयोजनाको काम सम्पन्न गर्छौं र तपाईहरुलाई लुम्बिनीमा स्वागत गर्न आतुर छौं, मन्त्रीको जिम्मेवारी दिएपछि बधाई दिने क्रममा पहिलो जिम्मेवारीकै रुपमा गौतमबुद्ध विमानस्थलको आयोजनाबारे मलाई भन्नुभएको छ, प्रधानमन्त्रीज्यूले लिने परीक्षा पनि यही हो,’ मन्त्री भट्टराईले भन्नुभयो । पर्यटन मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्री भट्टराईले स्थलगत निरीक्षण गर्नुभएको गौतमबुद्ध बिमानस्थल नै पहिलो हो ।

निरीक्षणका क्रममा मन्त्री भट्टराईले सिंगो मुलुकले यस विमानस्थलबाट फाइदा लिने बताउनुभयो । अझ प्रदेश सरकार, स्थानीय सरकार र नागरिकले नजिकबाट फाइदा लिने उहाँको भनाई थियो । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीले नदीजन्य पदार्थ समयमा उपलब्ध नहुँदा पनि आयोजनालाई समस्या आएको जानकारी मन्त्री भट्टराईलाई गराउनुभयो ।

त्यसअवसरमा प्रदेश ५ सरकारका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरी, प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आयोजना समयमै सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।
को अठोट : मेरै कार्यकालमा मेलम्ची सम्पन्न हुन्छ