जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १६:४१

दोलखामा मतान्तर घटाउँदै एमाले उम्मेदवार, यस्तो छ संघ र प्रदेशको मत परिणाम


दोलखा, मंसिर १७ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सुरुवाती चरणदेखि नै अग्रता लिएको गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की (बिश्व) र नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटीबीच कडा टक्कर देखिएको हो ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म २४ हजार ४९२ मत गणना सकिँदा कार्कीले ११ हजार २२० र शिवाकोटीले १० हजार ३११ मत पाउनु भएको छ । उहाँहरुबीचको मत अन्तर ९५२ रहेको छ ।

यस्तै प्रदेशसभा क मा २१ हजार ५२ मत गणना सकिदा कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार १७३ मत पाउनु भएको छ भने एमालेका नरबहादुर श्रेष्ठले ८ हजार ३८० मत पाउनु भएको छ । उहाँहरुबीचको मत अन्तर १७ सय ९३ रहेको छ ।

यसैगरी प्रदेशसभा ख मा कांग्रेसका बर्मा लामाले ११ हजार ३९१ मत पाउनु भएको छ भने एमाले उम्मेदवार भरतबहादुर केसीले ११ हजार ३३९ मत पाउनु भएको छ । उहाँहरुबीचको मत अन्तर ५२ रहेको छ ।