जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १९:३४

सोचेजस्तो परिणाम नआए पनि सत्ता बार्गेनिङका लागि उपयुक्त विकल्प : प्रचण्ड


काठमाडौं, मंसिर १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा सोचेजस्तो मतपरिणाम नआएपनि सत्ता बार्गेनिङका लागि यो उपयुक्त विकल्प भएको निश्कर्ष सुनाउनु भएको छ ।

निर्वाचनको समिक्षा गर्न आज बसेको पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले यस्तो धारणा राख्नुभएको हो । बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार प्रचण्डले सत्ताका लागि फेरि पनि आफूहरु नै निर्णायक बन्ने स्थिति आएकोले परिणामबाट निरास नहुन आग्रह गर्नुभएको थियो ।

‘सोचेजस्तो मतपरिणाम नआए पनि सत्ता बार्गेनिङका लागि यो उपयुक्त विकल्प हो,’ बैठकमा प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने ।
यसैगरी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साना दलहरूसँग सहकार्य गरेर शक्ति निर्माण गर्नसक्ने धारणा पनि राख्नुभएको छ ।

बैठकमा सवै नेताहरूले निर्वाचनको मत परिणामबारे समीक्षात्मक रिपोर्टिङ गरिरहनुभएको छ। माओवादीले सोचेअनुरुपको नतिजा ल्याउन नसकेको निष्कर्ष सुनाएका थिए ।