काठमाडौं, असोज १८ । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताउनुभएको छ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
उहाँले कांग्रेसको इतिहास धेरै संघर्ष र योगदानले बनेको उल्लेख गर्दै पार्टी हल्लाका भरमा स्थापित नभएको बताउनुभयो।
‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ। नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ उहाँले भन्नुभयो।
कांग्रेसका नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको राईको भनाइ छ।
‘आफ्ना निजी सपना मारेर, राष्ट्र निर्माणका निम्ति सपना त्यागेर, त्यो सपना देखेर निर्माण भएको पार्टी हो,’ उहाँले भन्नुभयो।
राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहने भन्नेभन्दा जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।












प्रतिक्रिया दिनुहोस्