जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार २१:४८

लोप भएको ८५ वर्षपछि भेटियो तस्मानियाली बाघ


काठमाडौं, १९ मंसिर ।   करिब ८५ वर्षअघि लोप भएको तस्मानियाली बाघ अवशेषका रूपमा अस्ट्रेलियाको एक म्युजियममा भेटिएको छ।

म्युजियममा पनि एक अल्मारीमा लुकाइएको अवस्थामा उक्त अवशेष फेला परेको हो। यो सम्भवतः अन्तिम तस्मानियाली बाघ थियो।

यो बाघ सन् १९३६ मा होबार्ट चिडियाखानामा मरेको थियो। त्यसको शव एक स्थानीय म्युजियमलाई जिम्मा लगाइएको थियो। उक्त बाघको कंकाल र छालाका साथ त्यसपछि के भयो भन्ने रहस्यको विषय बनेको थियो।

तस्मानियम म्युजियम एन्ट आर्ट ग्यालरीलाई बाघको अवशेषका बारेमा कुनै जानकारी थिएन। बाघको अवशेष कसैले फालिदिएको शंका म्युजियमका अधिकारीहरूको थियो।

एक नयाँ खोजीबाट बाघको अवशेष म्युजियममै संरक्षित रहेको पत्ता लागेको हो। म्युजियममै संरक्षित रहेर पनि उक्त बाघको अवशेषलाई सूचीकृत गरिएको थिएन।

लोपोन्मुख जनावरका प्रजातिबारे सन् २००० मा पुस्तक लेखेका रोबर्ट प्याडलले भने, ‘वर्षौंदेखि धेरै म्युजियम र शोधकर्ताहरूले यो बाघको अवशेष खोज्ने असफल प्रयत्न गरेका थिए। बाघको अवशेष कसैले फालिदिएको हुन सक्ने कुरामा उनीहरू सहमत भइसकेका थिए।’

तर, म्युजियमका कर्मचारीले एक अप्रकाशित रिपोर्ट फेला पारे। त्यसलगत्तै उनीहरू म्युजियमका कुनाकानी खानतलासीमा लागे। परिणाम( म्युजियमको शिक्षा विभागस्थित एक अल्मारीमा पोथी बाघको अवशेष फेला पर्‍यो।

उक्त अल्मारीलाई प्रदर्शनीका लागि कैयौं ठाउँमा पुर्‍याइसकिएको थियो। तर, त्यस अल्मारीमा लोप भइसकेको तस्मानियाली बाघको अवशेष रहेको जानकारी कसैलाई थिएन। जब त्यो अन्तिम तस्मानियाली बाघ भएको पुष्टि भयो, म्युजियमले त्यसलाई सार्वजनिक प्रदर्शनीमा राखेको छ।