जनता टाइम्स

२० मंसिर २०७९, मंगलवार ०७:१०

दक्षिण कोरियालाई हराउँदै क्वार्टरफाइनलमा पुग्यो ब्राजिल


काठमाडौं, मंसिर २० । दक्षिण कोरियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

स्टेडियम नाइन फोर सेभेनमा सोमबार राति सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाकेटाले गोल गरे ।

खेलको सातौं मिनेटमा भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट नबित्दै नेइमारको गोलमा ब्राजिलले अग्रता दोब्बर पारेको थियो ।

दक्षिण कोरियाका मिडफिल्डर यु योङ जुङले १८ यार्ड बक्सभित्र रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै नेइमारले ब्राजिलको अग्रता दोब्बर पारेका हुन ।

ब्राजिलका लागि २९औं मिनेटमा थिएगो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै अग्रता ३–० बनाए । त्यसको सात मिनेट नबित्दै लुकास पाकेटाले ब्राजिलका लागि चौथो गोल गरे ।

दक्षिण कोरियाका पेइक सिउङ होले ७६औं मिनेटमा एक गोल फर्काएका थिए । पहिलो हाफमा बनाएको अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै ब्राजिलले सानदार जित निकाल्यो ।

जितसँगै दक्षिण अमेरिकी टिमले सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल २०१८ मा क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।

सन् २००२ मा घरमै आयोजना भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछि २००६ मा दक्षिण अफ्रिकामा अन्तिम १६ बाटै बाहिरिएको थियो । त्यसपछिका दुई संस्करण समूह चरणबाटै बाहिरिएको दक्षिण कोरियाले यसपटक पनि अन्तिम १६ भन्दा माथियो यात्रा तय गर्न सकेन ।