जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १२:३४

१२ प्रतिशतले घट्यो विद्युत् चुहावट


लहान, साउन २४

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो ।

गत आव ०७३/७४ सम्म ३८ दशमलव ९३ प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा आर्थिक बर्ष ०७४/०७५ मा विद्युत् चुहावट ३४ दशमलव ८८ प्रतिशत झेरेको र आव ०७५/७६ सकिँदा विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो । यस्तै आव ०७५/७६ मा विद्युत्को महसुल नबुझाउने ४४९ जना ग्राहकको विद्युत् लाइन काट्दा रु एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवको भनाइ छ ।

त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३७ जनालाई पक्राउ गरी जरिवानाबापत रु ६७ लाख ८० हजार ११५ राजश्व सङ्कलन भएको जनाएको छ । सो क्रममा ४४३ थान विद्युत् उपकरणसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । त्यस्तै विद्युत् मिटरबाट विद्युत् चोरी गर्ने १५ जनामाथि कारवाही गरी रु २१ लाख १७ हजार ६३३ राजश्व सङ्कलन गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

भारतबाट अवैध रुपमा ल्याएको समान छुटाउन प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै सिरहा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–७ ट्राफिक चौकमा चेकजाँच गरिरहेको प्रहरी टोलीलाई भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा छुटाउन आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले सिरहा नगरपालिका–५ निवासी ४५ वर्षीय मोहम्मद मुमताजलाई पक्राउ गरेको हो । सो क्रममा अवैध रुपमा ल्याएको सामानसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै प्रहरीले सिरहा नगरपालिका–७ ट्राफिक चौकबाट बिना कागजपत्र ल्याएको २२ थान अवैध भैंसी र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले ना२ख ८५५५ नंको एलपी ट्रकमा ल्याउँदै गरेको लैनो भैँसी ११ र पाडारपाडी ११ वटासहित ट्रक चालक मोरङको सुन्दर हरैचा नगरपालिका–२ निवासी ३२ वर्षीय सञ्जयकुमार चौधरी र भैँसी धनी सिरहाको नगरपालिका–१२ निवासी ५२ वर्षीय इनकुमार यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेको करीब रु तीन लाख ५० हजार मूल्य बराबरको भैँसी र रु ६ लाख मूल्य बराबरको सो ट्रक आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडर, सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।