बुटवल, २५ मंसिर । रुपन्देही कर्मथलो बनाएर लामो समय पत्रकारिता तथा विभिन्न सामाजिक सेवामा योगदान दिएका विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट सम्मानीत गरिएको छ । आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अधिकारकर्मी पहाडीलाई नगद १ लाख १० हजार, दोसल्ला, सम्मानपत्रबाट सम्मानित गर्नुभएको थियो ।
२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका, संविधान सभा सदस्य (२०६४–६९), नेपाल राष्ट्रिय दलित पत्रकार संघका संस्थापक अध्यक्ष, सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धानरअध्ययन कार्यमा पहाडीले योगदान दिनुभएको थियो । उहाँ लेखक, विश्लेषणका साथै विभिन्न अधिकार संस्थामा आवद्ध हुनुहुन्छ । यसअघि उहाँ डा. भिमराव अम्बेडकर अवार्डबाट समेत सम्मानित हुनुभएको थियो ।
पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार सिंगो दलित आन्दोलनप्रतिको सम्मान भएको बताउनुभयो । उहाँले आफूले यो पुरस्कारको रकम निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षयकोषको स्थापनाका लागि प्रयोग गर्ने घोषणा गर्नुभयो । अधिकारकर्मी तथा संचारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको योगदानको बापत सम्मानीत गरिएको समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, पूर्वअध्यक्ष मनोज पुडासैनी, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देही जिल्लाका अध्यक्ष रामराज पोखरेल, रुपन्देही सभापति खिम प्रसाद भट्टराई (कृष्ण) ले समाज परिवर्तनमा योगदानमा अग्रसर गराउन सम्मान थप प्रेरणामुलक हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्