जनता टाइम्स

२८ मंसिर २०७९, बुधबार ०६:५७

निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक हुँदै


काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा अपराह्न १ बजेपछि अन्तिम नतिजा घोषणा हुने आयोगले जनाएको छ।

निर्वाचन आयोगले बिहीबार मङ्सिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने कार्यक्रम रहेको बताइएको छ। सोही दिन नै निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसअघि आयोगले अन्तिम नतिजा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको थियो। मतदान सम्पन्न भएको करिब तीन सातापछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको गणना सम्पन्न भई राजनीतिक दलले पाएको सिट बाँडफाँट सम्भव भयो। सङ्घीय संसद्को प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएका छन्।