जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १४:५३

हेडसरले नै दाँत झर्नेगरी विद्यार्थी कुटेपछि….


बागलुङ, साउन २४

विद्यालयका प्रधानाध्यापकको कुटाईबाट बागलुङको गणेश माबिमा पढ्ने एक छात्र घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं.१४ नारायणस्थामा रहेको गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट बाट कक्षा १० मा अध्ययनरत १६ बर्षिया कुशल पौडेल घाईते भएका हुन् । पौडेलको अगाडिको उपल्लो दाँत खसेको कुशलका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । अतिरिक्त गणित बिषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेका थिए ।

पौडेलले बिद्यार्थी बेहोस हुने बेलासम्म कुटपिट गरेको शर्माले गुनासो गर्नुभयो । बेहोस भएकोले कति कुटपिट गरे भन्नेसमेत थाहा नपाएको पिडितले घरमा पुगेर बताएका थिए । ‘साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपीट गरेपछि उ बेहोस भएको थियो’ पौडेलले भन्नुभयो, ‘उपल्लो दाँत खसेकाले त्यहिँका शिक्षकहरुले खवर गरेपछि हामी पुगेर निकालेर ल्याएका हौं ।’ पिडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै उपचार गरेर राखिएको छ ।

जिल्ला सदरमुकामा रहेको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेका पौडेललाई राम्रो पढाई भएको भन्दै कक्षा ८ मा गणेश मावि लगिएको थियो । बाबु प्रेमप्रसाद शर्मा पौडेल पनि शिक्षण पेशामा छन् । ‘पठनपाठन राम्रो हुन्छ भनेर गणेश माविमा पठाईयो’ पौडेलले भन्नुभयो, ‘म पनि शिक्षक हो, विद्यार्थीलाई कुटपीट गर्न पाईंदैन ।’ उहाँले शिक्षकबिरुद्ध कानुनी उपचार खोज्ने बताउनुभयो । पीडित कुशल खेलाडी समेत हुन् ।

शारिरीक रुपमा स्वस्थ्य भएकोले सामान्य चोटबाट उनी पिडित नहुनुपर्ने पौडेलले बताउनुभयो । विद्यालयमा कुटपिट भएको बिषयमा बिद्यालय व्यवस्थापन समिति र प्रद्यानाध्यापक स्वयंलाई समेत सम्पर्क गर्न खोज्दा सम्पर्क भएनन्। सोही विद्यालयका एक शिक्षकले कुटपिट भएको बताउनुभयो । संयोगले बिद्यार्थीको दाँत झरेकाले घटनाले ठुलो रुप लिएको उहाँले बताउनुभयो ।