काठमाडौं, २८ मंसिर । शपथ खान नपाउँदै प्रतिनिधिसभामा निर्वाचित तीनजना सांसद कानुनी झमेलामा फस्नुभएको छ । निर्वाचनको मतगणनामा धाँधली र नागरिकता प्रकरण छानबिनबारे उहाँहरुविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर भएका हुन् । निर्वाचन आयोगले आज निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । उक्त अन्तिम परिणाम बिहीबार भोलि राष्ट्रपतिसमक्ष पेस हुनेछ । केही दिनमा सांसदहरूलाई शपथ खुवाइँदै छ ।
शपथ ग्रहण गर्नु पूर्वराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का सांसद रवि लामिछानेविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । सांसद लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान गरिरहेकाले उहाँलाई शपथ नगर्न नगराउन माग गर्दै रिट परेको हो । उहाँविरुद्ध युवराज लामिछानेले आज सो रिट दर्ता गर्नुभएको हो ।
यता नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको छ । धनुषा क्षेत्र नम्बर–४ मा मतगणनाका क्रममा धाँधली हुँदा आफू झिनो मतान्तरले पराजित भएको भन्दै यादवले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठविरुद्ध रिट दायर गर्नुभएको हो ।
कांग्रेस सहमहामन्त्री यादव एमाले सचिवसमेत रहेका उम्मेदवार महासेठसँग मात्र १२४ मतले पराजित हुनुभएको थियो । यस्तै मंगलबार नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समेत पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।
इलाम क्षेत्र नम्बर–१ मा मत गणनाको क्रममा निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै खनालको तर्फबाट रिट दायर भएको हो । सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका हुनुभएको थियो । बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत ल्याउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्