जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १७:३७

चुनावी बाँचा भुलेपछि महिलाको भेषमा मेयरलाई घुमाइयो शहर


काठमाडौं, साउन २४ । मेक्सिकोमा चुनावी बाचा पूरा नगरेको भन्दै मेयरलाई महिलाको भेषमा शहर घुमाइएको छ । मेयरमाथि यस्तो कार्वाही गर्ने अरु कोही नभएर स्वयं मतदाता हुन । चुनावका बेला नेताहरू विभिन्न वाचा गरेको तर चुनाव जितेपछि भने सबै बिसिएको भन्दै चुनावी प्रतिबद्धता बिर्सने मेयरलाई मेक्सिकोका नागरिकले पाठ पढाएका हुन । उनीहरूले पुरुष मेयरलाई कार्वाही स्वरुप महिलाको लुगा लगाएर शहर घुमाएका हुन ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार गत हप्ता ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका मेयर जाभिइर जिमेनेजलाई नगरवासीले केही दिनसम्म महिलाको भेषमा शहर घुम्न बाध्य पारेका थिए । गाढा कालो रङको लामो स्कर्ट र सेतो ब्लाउज लगाएर आक्रोशित शहरवासीका अगाडि मेयर जिमेनेज हिँडेका थिए । एक जना नगर अधिकारी लुइस टनले उनलाई साथ दिएका थिए, जो गुलाबी रङको महिला पहिरनमा सजिएका थिए।

मेक्सिकन स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावताका जिमेनेजले शहरको खानेपानी प्रणालीमा सुधार गर्न करिब १ लाख ५८ हजार डलर बजेट छुट्याउने वाचा गरेका थिए । तर, यो रकम उनी आफैँले हिनामिना गरेको आरोप लगाइएको छ । महिलाको पोशाकमा शहर घुम्न बाध्य पारिएका मेयरले भने आफू निर्दाेष भएको दाबी गरेका छन ।

मेयरसँग रिसाएका नगरवासीले हातमा सरकारको असफलतामाथि खेद प्रकट गरिएका प्लेकार्ड बोकेका थिए । अँध्यारो मुख लगाएर शहर घुमेका मेयर जिमेनेजले शहरवासीलाई आफूले काम गर्न खोजेको बताइरहेका थिए । मेक्सिकोमा जनप्रतिनिधिलाई यसैगरी महिलाको पोशाक लगाउन बाध्य पारेर लज्जित तुल्याउने पुरानो परम्परा छ । धेरैले मेयरलाई कारबाहीस्वरूप महिलाको भेष धारण गर्न लगाएबापत शहरवासीको प्रशंसा गरे पनि केही आलोचक भने राजनीतिक नेताको विरोध गर्ने यो शैली अपरिपक्व भएको बताएका छन ।